Rumpum Advertisement

उत्कृष्टतामा फर्किँदै मेस्सी

उत्कृष्टतामा फर्किँदै मेस्सी

विराटनगर । अर्जेन्टिनी स्टार लियोलन मेस्सीको नायकत्वमा स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्यो । गए राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबमाथि ३–२ गोलको जित निकाल्दा कप्तान मेस्सीले दुई गोल गरेका थिए ।

एथ्लेटिकको मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गर्दा पेड्रीले एक गोल गरे । एथ्लेटिकोका इनाकी विलियम्सले एक गोल गरे ।

यससँगै बार्सिलोना १७ खेलमा ३१ अङ्क जोड्दै शीर्ष तीनमा उक्लियो । बिल्बाओ भने २१ अङ्कका साथ नवौं स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।

केही समयअघि ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान तोडेका मेस्सी पछिल्लो समय लयमा फर्किने प्रयासमा छन् । कुनै एक क्लबबाट सर्वाधिक धेरै गोल गर्ने पेलेको कीर्तिमान तोडेका मेस्सीले गए राति दुई गोल गरेपछि पछिल्ला दस खेलबाट १० गोलको योगदान दिएका छन् । उनले आठ गोल र दुई असिस्ट गरेका छन् ।

यस सिजन सबै प्रतियोगिता गरी मेस्सीले २० खेलमा १२ गोल गरेका छन् । मेस्सीले ला लिगामा ९ गोल गर्दै शीर्ष गोलकर्ताको सूचीमा रहेका लुइस स्वारेज, जेरार्ड मोरेनो, लागो आसपाससँग बराबर गरेका छन् ।

यता, मेस्सीको प्रदर्शनबाट प्रशिक्षक रोनाल्ड कोइम्यान पनि सन्तुष्ट देखिएका छन् । खेलपछि बोल्दै कोइम्यानले मेस्सी आफ्नो उत्कृष्टतामा फर्किँदैगरेको बताएका छन् ।

‘म बार्सिलोना आएको पहिलो दिनदेखि मेस्सीले सबै कुरा दिएको देखिरहेको छु’ उनले भने, ‘म उनको प्रदर्शनबाट अचम्मित छैन किनकि उनले लामो समयदेखि आफ्नो क्षमता देखाउँदैआएका छन् । तर, अहिले उनले पहिलाको भन्दा राम्रो गर्दैआएका छन्, उत्कृष्टतामा फर्किँदैछन् ।