Rumpum Advertisement

पहिलो खेलमै निराश मौरिसियो, भने– ‘हामी पिएसजी हौं, हामीले जित्नै पर्थ्यो’

पहिलो खेलमै निराश मौरिसियो, भने– ‘हामी पिएसजी हौं, हामीले जित्नै पर्थ्यो’

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रशिक्षक मौरिसियो पोचेटिनो लिग वानअन्तर्गत सेन्ट इटेन्नीसँगको बराबरीबाट निराश बनेका छन् ।

गए राति भएको खेलमा बराबरी अङ्क बाँड्नु परेपछि इङ्ग्लिस क्लब टोटनह्यामका पूर्वप्रशिक्षक मौरिसियोले निराशा पोख्दै पिएसजीले जसरी भएपनि जित्नैपर्ने बताए ।

पिएसजी नयाँ वर्ष २०२१ को पहिलो खेलमै बराबरीमा रोकिएको हो । साविक विजेता पिएसजीले इटेन्नीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

इटेन्नीको मैदानमा घरेलु टोलीका लागि रोमेन हमौमाले र पिएसजीका लागि मोइसे किनले गोल गरेका थिए । बराबरीसँगै १८ खेलमा ३६ अङ्क जोडेर पिएसजी दोस्रो स्थानमा उक्लिएको छ । इटेन्नी भने १९ अङ्कका साथ १४औं स्थानमा छ ।

पिएसजीले नवनियुक्त प्रशिक्षक मौरिसियोको नेतृत्त्वमा पहिलो खेल खेलेको थियो । अर्जेन्टिनी कोच मौरिसियो हालै मात्र थोमस टुचेलको स्थानमा पिएसजी आएका हुन् । उनी पिएसजीका पूर्वखेलाडीसमेत हुन् ।

‘म पक्कै पनि थोरै निराश भएको छु किनकि हामी पिएसजी हौं त्यसर्थ हामीले जित्नैपर्थ्यो’, मौरिसिनोले टेलिफुट नामक मिडियासँग भने, ‘तर म तीन दिनअघि मात्र आएका कारण हामीसँग तयारीका लागि थोरै समय थियो । हामीले आफूलाई सुधार गर्नका लागि धेरै कुराहरू गर्न बाँकी छ । यो हामीले चाहेको नतिजा होइन बरु यो सेन्ट इटेन्नीको चाहनाअनुरुपको नतिजा हो ।’

‘विभिन्न अवधारणामा रहेर हामी अभ्यास गर्ने प्रयास गरेका थियौं । तर, म मेरा खेलाडीदेखि खुसी नै छु, उनीहरूले केहीहदसम्म त्यसलाई अपनाए । खेलाडीको व्यवहारदेखि पनि खुसी छु । तर, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन्,’ उनले थपे ।