birat ribon

कोभिडको हल्का सङ्क्रमण भएका ८६ प्रतिशतमा गन्ध र स्वाद हराउने, छ महिनाभित्र निको हुने

Neuro
कोभिडको हल्का सङ्क्रमण भएका ८६ प्रतिशतमा गन्ध र स्वाद हराउने, छ महिनाभित्र निको हुने

विराटनगर/कोभिडको हल्का सङ्क्रमण भएका लगभग ८६ प्रतिशत व्यक्तिहरूले गन्ध र स्वादको भावना गुमाउने नयाँ अध्ययनले देखाएको छ ।

१८ युरोपियन अस्पतालका दुई हजार पाँच सयभन्दा बढी बिरामीमा गरिएको अध्ययनले ८६ प्रतिशत व्यक्तिहरूले गन्ध र स्वादको भावना गुमाए पनि छ महिनाभित्र निको हुने देखिएको हो । भाइरल निमोनिया वा अक्सिजनको मात्रा नघटेको खण्डमा तथा बिरामी घरमा निको हुन सक्षम भएकालाई कोभिड १९ को हल्का सङ्क्रमण मानिन्छ ।

cura insider

अध्ययनका अनुसार अधिकांशमा १८ देखि २१ दिनको औसतमा गन्धको भावना फेरि देखा परेको थियो । तर, करिब पाँच प्रतिशत मानिसमा छ महिना बितिसक्दा पनि पूर्ण रुपमा स्वाद र गन्ध फर्किएको थिएन । गन्ध र स्वाद हराउने समस्या (एनोस्मिया) कोभिडको प्रारम्भिक सङ्केतको रूपमा हेरिएको छ । अन्य कुनै समस्या नदेखिएसमेत गन्ध र स्वाद हराउने समस्या देखिन सक्छ ।

तुलनात्मक रूपमा, कोभिड १९ को मध्यमदेखि गम्भीर लक्षण भएका चारदेखि सात प्रतिशत व्यक्तिमा मात्र गन्ध र स्वाद लिन सक्ने क्षमता गुमाएका थिए । मध्यम सङ्क्रमण भएको व्यक्तिसँग खोकी, ज्वरो र सास फेर्न गाह्रो हुनेलगायतका निमोनियाको क्लिनिकल लक्षण थिए । बढी उमेर, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक डिसअर्डर, श्वासप्रश्वास, मुटु, कलेजोलगायतमा समस्या भएको व्यक्तिमा कोभिडको गम्भीर सङ्क्रमण हुने गर्छ ।

आन्तरिक चिकित्सा जर्नलमा प्रकाशित गरिएको उक्त अध्ययनले वृद्धहरूको तुलनामा युवामा धेरै गन्ध र स्वाद हराउने उल्लेख छ । तर, गन्ध र स्वाद हराउने सबैमा कोरोना भाइरसको सङ्क्रमण भएको हुँदैन । चिसो वा फ्लू जस्ता कुनै पनि श्वासप्रश्वासको भाइरसले अस्थायी रूपमा (कहिलेकाहीँ (स्थायी रूपमा) गन्ध र स्वादलाई असर गर्छ ।

भाइरल प्रभावबाट नाकमा हुने सुजनको मात्राले गन्धको कणलाई नाकको माथिल्लो भागसम्म पुग्नबाट रोक्न सक्छ । सुन्निने समस्या घट्दै गएपछि गन्ध फर्किन सक्छ । चिसो र फ्लूबाहेक नोज पोलिप्स, ट्यूमर, अल्जाइमर वा पार्किन्सनजस्ता न्यूरोडिजेनेरेटिव रोग, मस्तिष्कमा चोटपटकका कारण पनि गन्ध हराउने केही अन्य कारण हुन् ।

स्वाद हराउनु सामान्यतया गन्ध हराउनुसँग सम्बन्धित हुन्छ किनभने स्वाद पहिचान गर्न गन्धमा भर पर्ने हुन्छ । तर, केमोथेरापी र रेडिएसन थेरापी, दन्त शल्यक्रियालगायत केही चिकित्साका कारण वा केही औषधिहरूले पनि स्वादलाई असर गर्ने हुन सक्छन् ।

jackson ribon