विराटनगर/नेपाल चिकित्सक सङ्घ कोसी शाखाको निर्वाचिन मिति नजिकिएसँगै चिकित्सकहरुमा चुनाबी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि माघ ४–५ गते निर्वाचन हुने कार्यतालिका छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष डाक्टर फरवार्ड सिलवाल र डाक्टर कैशाल श्रेष्ठको प्यानल चुनावी मैदानमा छ । डाक्टर शिलवाल महासचिव हुँदै अध्यक्षमा चयन भएका थिए । दोस्रो कार्यकालका लागि डाक्टर सिलवाल चुनाबी मैदानमा छन् ।
निजी अस्पतालहरूको संस्था अफिनका केन्द्रीय उपाध्यक्ष डा. कैलाश श्रेष्ठ पहिलो पटक सङ्घको अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । डाक्टर श्रेष्ठले पनि छुट्टै प्यानल निर्माण गरेका छन् । श्रेष्ठको प्यानबाट उपाध्यक्षमा डाक्टर बालकृष्ण साह, महासचिवमा रविनराज सिंह उठ्दै छन् । नयाँ समितिले २०७७–२०८० सम्म काम गर्नेछ ।
चुनाबी प्रतिबद्धता र भावी योजनामा केन्द्रित रहेर डा. श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

तपाईको समूहको चुनाबी एजेन्डाहरू के–के छन् ?
हाम्रो समूहले सङ्घको निर्णय र निर्वाचन आचारसंहिताको अक्षरस पालना गर्नेछ । नेपाल चिकित्सक सङ्घको उद्देश्यअनुसार सम्पूर्ण (निजी तथा सरकारी) चिकित्सकहरूको दक्षता अभिवृद्धिका लागि तथा तिनीहरुबाट प्रदान गरिने स्वास्थ्य सेवाको स्तरीयता उच्च राख्न नियमित तालिम, गोष्ठीहरूका लागि निरन्तर प्रयास गर्ने छ ।
साथै, चिकित्सा पेशाको सम्मान र मर्यादाको संरक्षण र प्रबद्र्धन गर्ने, चिकित्सकहरूबीच भाइचारा, सद्भाव, सहयोग एवं सहकार्य अभिवृद्धि गर्ने छ ।
चिकित्सा क्षेत्रसँग सम्बन्धित रोग निवारण र रोकथामसम्बन्धी ज्ञान र सीपको दायरा अभिवृद्धि गर्न सोध तथा अनुसन्धानका लागि वातावरण सिर्जना गर्ने, सहयोग गर्ने, प्रोत्साहन गर्ने, जर्नल तथा मुखपत्र प्रकाशन गर्ने, चिकित्सा ई–पुस्तकालयको विकास गर्ने छ ।
हाम्रो समूह कुनै राजनीतिक दल, जातीय तथा वर्गीय सङ्गठन, धर्म आदिको विभिन्न समूह वा सङ्घ–सङ्गठनसँग साझेदारी गर्ने वा प्रेरित हुने छैन ।
चिकित्सकहरूको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने र विद्यमान श्रमशोषणका विरुद्ध सङ्घर्ष गर्ने, चिकित्सकहरूको साथ र सहयोगमा चिकित्सक सङ्घलाई सबैको आफ्नो बनाउन प्रयास गर्नेछौँ ।
स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउने, चिकित्सकीय पहुँच बढाउन, चिकित्सकहरुको मर्यादा र सम्मान उच्च राख्न सम्बन्धित निकाय, क्षेत्र तथा चिकित्सकहरूसँग समन्वय गर्नेछौँ ।
सङ्घको विराटनगर शाखाको भवनका लागि स्वीकृत भएको भवन निर्माणमा थप सहयोगका लागि सहकार्य र समन्वय गर्ने छ । तर, सङ्घको भवनभन्दा पनि सबै चिकित्सकहरू सङ्घमा जाने वातावरण सिर्जना गर्ने तथा ‘व्यक्तिको होइन विधिको व्यवस्थापन’ स्थापित गर्ने कामलाई उच्च प्राथमिकतामा राखिने छ ।
तपाई निजी अस्पतालको सङ्गठनमा पनि हुनुहुन्छ । चिकित्सक सङ्घमा किन उठ्न लाग्नु भएको हो ?
चिकित्सक सङ्घमा हामी उत्रिनुका कारण धेरैजसो सबै एजेन्डामा आइसकेका छन् । मुख्य रुपमा डाक्टरहरूको बीचमा भइरहेको विवादलाई हटाएर त्यसलाई एकठाउँमा ल्याउन खोजेको हो । चिकित्सा पेशाको सम्मान र मर्यादाको संरक्षण र प्रबद्र्धन गर्ने, चिकित्सकहरूबीच भाइचारा, सद्भाव, सहयोग एवम् सहकार्य अभिवृद्धि गर्ने नै मुख्य प्रतिबद्धता रहेको छ ।
अफिनमा पनि हुनुहुन्छ । भोलिका दिनमा निजी अस्पतालविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आयो भने नेतृत्व लिन सक्नुहुन्छ ?
अवश्य सक्छु । पहिला म डाक्टर हुँ । डाक्टर जुन संस्थामा बसेको हुन्छ, त्यो संस्था बनाएको हुन्छ । संस्थाले डाक्टर बनाएको हुँदैन । डाक्टर नभइकन संस्था हुँदैन । त्यसैले डाक्टरको हकहितका लागि सदैव नेतृत्व लिन अग्रसर हुनेछु । मेरो आफ्नै संस्था भए पनि वास्तविक र सत्यको लागि लड्छौँ ।
सङ्घमा धेरै चिकित्सक आबद्ध हुन मानिरहेका छैनन् भन्ने गुनासाहरु आएका छन् । यस्तो अवस्था किन आयो होला ?
यसमा सबैभन्दा ठूलो भूमिका राजनीति हो जस्तो लाग्छ । राजनीति डिभाइड एन्ड रुलको हिसाबले काम गरेको हुन्छ । राजनीति आफ्नो ठाउँमा छ । तर, संस्थागत हिसाबमा डाक्टर भन्ने शब्द छ त्यसको मर्म बुझेर सबै साथीहरू एकजुट भएको भए हुन्थ्यो । भोट हाल्न जो जहाँ गए पनि हुन्थ्यो । एकजुट नभएका कारण विवाद उत्पन्न भइरहेको छ ।
डाक्टरहरू स्वयम् नै चिकित्सक सङ्घमा आबद्ध हुन वा सदस्य हुन चाहिरहेका छैनन् । कोही राजनीतिक कारणले गर्दा सदस्य हुन चाहेका छैनन् भने कोही नेतृत्वसँग विरक्त छन् । सङ्घले हालसम्म के गरेको छ, के दिएको छ, सोच पनि पाएका छौँ ।
खासमा डाक्टरहरूले चाहने भनेको विभिन्न ट्रेनिङ, शिक्षा तथा सीपको दायरा अभिवृद्धि गर्ने कुराहरू हुन् । तर, हालसम्म यी कामहरु भएका छैनन् ।
त्यसले गर्दा डाक्टरहरू निराश भएर आफ्नो–आफ्नो तरिकाले काम गर्न थालेका छन् । अहिले हामीले यी सबै डाक्टरहरूलाई एकजुट गर्ने कोसिस गर्न खोजेका हौँ । पहिला डाक्टर बनौँ त्यसपछि बाँकी रहेको अन्य काम गर्ने सोचले पनि अगाडि बढ्न खोजेको हो ।
सङ्घको सक्रियता कस्तो पाउनु भएको छ ? बाहिर सक्रिय नरहेको गुनासो पनि आइरहेका छन नि ?
देशको परिस्थितिअनुसार पनि यस्तो हुन सकेको हो । राजनीतिका कारण कुनै पनि संस्था, चाहे त्यो चिकित्सक सङ्घ होस्, प्यारामेडिक्स होस् वा नर्सिङलगायतका स्वास्थ्य संस्था सक्रिय भएर काम गर्न तथा बोल्न सकिरहेका छैनन् ।
मन्त्रालयहरूमा जाँदा मन्त्री भेटिँदैनन्, सबैजना आफ्नो तालमा काम गरिरहेका हुन्छन् । यो कारण पनि चिकित्सक सङ्घ कमजोर भएको हो । सबैतिर सक्रिय भएमा सबै जना सक्रिय हुन्छ । कतै पनि सक्रिय छैन, कहीँ गएर पनि काम हुँदैन भने विस्तारै–विस्तारै संस्था नै निस्क्रिय हुँदै जान्छ ।
यदि तपाईले चुनाब जितेको अवस्थामा अबको तीन वर्षपछि सङ्घलाई कस्तो अवस्थामा पाउन सकिन्छ ?
हामीले व्यक्त गरेका सबै प्रतिबद्धताहरू पूरा गर्न कोसिस गर्ने हो । मैले सङ्घलाई घर बनाउन खोजेको हो । अहिले चिकित्सक सङ्घको भवन मात्र छ, मानिसहरू छैनन् । जति पनि डाक्टरहरू छन् सबैलाई नेपाल चिकित्सक सङ्घलाई आफ्नो घरजस्तो सोची विश्वासमा राखी आफ्नो दक्षता अभिवृद्धिका लागि केही गरोस् भन्ने चाहना हो । यो तीन वर्षमा यसका लागि सिँढी बन्ने कोसिस गर्ने छु ।
प्रस्तुति : अङ्किता ताम्राकार
