Rumpum Advertisement

विराटनगरको सहिद रङ्गशालामा जडान भयो ‘फ्लड लाइट’

विराटनगरको सहिद रङ्गशालामा जडान भयो ‘फ्लड लाइट’

विराटनगर/विराटनगरको सहिद रङ्गशालामा ‘फ्लड लाइट’ जडान भएको छ । खेलकुदका रात्रिकालीन प्रतियोगिता आयोजना गर्नका लागि प्रदेश १ सरकारको लगानीमा फ्लड लाइट जडान भएको हो ।

ठेकेदार कम्पनीका अनुसार लाइट जडानको काम लगभग सकिएको छ । प्राविधिक काम गर्न केही समय लाग्नेछ । लाइट जडानपछि रातका समयमा जुनसुकै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी षडानन्द भट्टराईले बताए । उनका अनुसार बढीमा एक साताभित्र ‘फ्लड लाइट’को काम सकिने छ ।

‘काम तीव्ररुपमा भइरहेको छ,’ भट्टराईले भने, ‘काम सक्ने निर्माण कम्पनीको अन्तिम म्याद पुस २८ गतेसम्मको मात्रै छ ।’ भट्टराईका अनुसार ‘फ्लड लाइट’ जडानका लागि २०७६ असोज १ गते मन्त्रालय र निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनबीच पहिलो पटक सम्झौता भएको थियो ।

चार करोड २९ लाख रुपैयाँमा जडान गर्ने गरी भएको सम्झौतामा दुई सय १० दिनभित्र काम सम्पन्न गर्ने उल्लेख छ । तर कोरोनाका कारण काम ठप्प हुँदा जडान कार्य केही ढिला भएको र भदौमा दोस्रो पटक म्याद थपिएको कन्स्ट्रक्सनका सञ्चालक गणेश कार्कीले बताए ।

‘फ्लड लाइट’ जडानका लागि सहिद मैदानको चारै कुनामा एक/एकवटा ३३ मिटर अग्ला मास्ट (पोल) राखिसकिएको छ । प्रत्येक मास्टमा एक हजार वाटका २७ वटा बल्व राखिएको छ ।

कार्कीका अनुसार मास्टमा विद्युत प्रवाहका लागि तार बिछ्याउने काम दुई/तीन दिनभित्रै सकिने छ ।

भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाइएको ‘फ्लड लाइट’ र आवश्यक सामग्री जडान गर्न भारतबाटै प्राविधिकहरु झिकाइएको थियो ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार ‘फ्लड लाइट’का लागि तीन सय केभिएको ट्रान्सफर्मर जडान प्रक्रिया पनि सुरु भएको छ । लाइट जडान प्रदेश सरकार र विराटनगर महानगरपालिकाको समन्यवमा हुने भनिए पनि दुई तहका सरकारबीच कुरा नमिल्दा प्रदेश सरकारले मात्रै काम अघि बढाएको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले निर्माणाधीन अवस्थामा रहेको ‘फ्लड लाइट’ जडानको काम अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: