Rumpum Advertisement

विराटनगर, जनकपुर र हेटौँडामा प्रदूषणको जोखिम कायमै, काठमाडौंमा कम हुँदै

विराटनगर, जनकपुर र हेटौँडामा प्रदूषणको जोखिम कायमै, काठमाडौंमा कम हुँदै

विराटनगर । पछिल्लो समय ह्वात्तै बढेको वायु प्रदूषणको जोखिम विराटनगर, जनकपुर र हेटौँडामा कायमै रहेको विज्ञहरुले बताएका छन् ।

काठमाडौँमा भने जोखिम कम हुँदै गइरहेको पाइएको छ । वायु प्रदूषणको स्तर कम हुँदै गएपछि काठमाडौँमा निम्तनसक्ने भयानक जोखिम टर्ने अवस्थामा पुगेको छ । मौसममा आएको परिवर्तनसँगै मंगलबार र सोमबार काठमाडौंलगायतका शहरमा प्रदूषण घातक स्तरमा पुगेको थियो । प्रदेश १ को राजधानी विराटनगर, २ को जनकपुर र बागमती प्रदेशको राजधानी हेटौँडामा भने जोखिम उच्च हुँदै गइरहेको हो ।

मौसममा सुधार आएसँगै काठमाडौँमा वायु प्रदूषणको मात्रा पनि घटेको वातावरण विभागले जनाएको छ । उपत्यकामा रहेका प्रदूषण मापन केन्द्रहरूले हावाको स्तर पहेँलो अर्थात् मानिसको स्वास्थ्यका लागि ठिकै अवस्थामा रहेको सङ्केत गरेका छन् ।

यद्यपि अहिले पनि जनकपुर, विराटनगर र हेटौँडामा भने हावाको गुणस्तर जोखिमयुक्त अवस्थामै रहेको छ । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घरबाहिर ननिस्कन आग्रहसमेत गरेको थियो ।

बुधबारदेखि मौसममा सुधार हुँदै आएको र केही ठाउँमा मात्र थोरै बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभरको मौसम सफा हुँदै गएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीले केहीदिन हिमाली भागमा हिमपात र काठमाडौं उपत्यका लगायतका केही ठाउँमा वर्षाकोसमेत गराएको महाशाखाले जनाएको छ ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलको भनाइ छ । काठमाडौंमा वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा झण्डै पाँच गुणामाथि पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१८ मा वायु प्रदूषणका कारण झण्डै ३७ हजार जनाको ज्यान गएको थियो ।

नेपालमा हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुन्छ । वायु प्रदूषण हुनुका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँटा भट्टाबाट हुने उत्सर्जन, जथाभाबी फोहर फाल्ने तथा बाल्ने लगायत हुन् ।

यसैबीच वायु प्रदूषण बढेकाले केही दिन मर्निङ वाकमा नजान, निर्माणका काम रोक्न र अत्यावश्यक नपरेसम्म गाडी नचलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । प्रदूषणको मात्रा बढेकाले फोहोर नजलाइकन उचित व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: