Rumpum Advertisement

विश्वमा कोरोना सङ्क्रमित छ सय बढी पत्रकारको मृत्यु

Neuro
विश्वमा कोरोना सङ्क्रमित छ सय बढी पत्रकारको मृत्यु

विराटनगर । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित बनेका छ सयभन्दा बढी पत्रकारको हालसम्म मृत्यु भइसकेको छ ।

सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा विश्वभर मृत्यु हुने सङ्क्रमित पत्रकारको सङ्ख्या छ सय दुई रहेको छ । यो विवरण प्रेस एम्ब्लेम क्याम्पेन (पीइसी)ले सार्वजनिक गरेको हो । उसले कोरोना कालमा पत्रकार पनि अग्रपंत्तिमा हुने भएकाले संचार जगतले यति ठूलो मानवीय क्षति बेहोर्नु परेको जनाएको छ ।

अग्रपंत्तिमा पत्रकार खटिनुपर्ने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन पीइसीले आग्रह गरेको छ । कोरोनाका कारण मृत्यु भएकामध्ये आधाभन्दा बढी तीन सय तीन जना पत्रकार ल्याटिन अमेरिकी मुलुकका छन्। त्यसैगरी ज्यान गुमाउनेमा एसियाका एक सय ४५ जना रहेका छन् । युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ र अफ्रिकाका २८ जना पत्रकारको कोरोनाका कारण ज्यान गइसकेको प्रतिवेदन पीइसीले सार्वजनिक गरेको छ ।

स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको पीइसीले पत्रकारहरू समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरूमा सङ्क्रमणको खतरा धेरै रहेको जनाएको छ। त्यस्तैले पत्रकारहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिनुपर्नेमा पीइसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा लेखिएको छ।

फोटो तथा भिडियो सङ्कलन गर्ने, स्थलगत समाचार सङ्कलन गर्ने, स्टुडियोमै गएर समाचार सामग्री प्रस्तुत गर्ने, घटनास्थलमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरूले घरमै बसेर काम गर्न नमिल्ने भएकाले पनि पत्रकारहरू संक्रमणको बढी जोखिममा हुन्छन्। देशअनुसार हेर्दा कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा भएको देखिएको छ । पेरुमा ९३ जनाको मृत्यु भएको छ। दोस्रो धेरै ब्राजिलमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ।

त्यसैगरी बंगलादेशमा ४१ जना, इटलीमा ३७ जना र अमेरिकामा ३१ जना पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।