birat ribon

कोभिडका कारण बैंकहरूको करिब तीन खर्ब कर्जा पुनर्संरचना हुने

Neuro
कोभिडका कारण बैंकहरूको करिब तीन खर्ब कर्जा पुनर्संरचना हुने

विराटनगर । बैंक तथा वित्तीय संस्थाले कोभिडका कारण प्रभावित करिब ३ खर्ब कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नुपर्ने देखिएको छ ।

बैंकरहरूका अनुसार वाणिज्य बैंकहरूले असारसम्मको कर्जा लगानीको करिब १० प्रतिशतसम्म, विकास बैंक र वित्तीय संस्थाहरूले करिब ३–३ प्रतिशत हाराहारीमा कर्जा पुनर्संरचना गर्नुपर्ने देखिएको हो । पुस मसान्त नजिकिँदै गर्दा बैंक तथा वित्तीय संस्थालाई कोभिडका कारण प्रभावित कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न भ्याइनभ्याई छ ।

cura insider

गत असारसम्ममा वाणिज्य बैंकहरूले २९ खर्ब ७ अर्ब, विकास बैंकहरूले २ खर्ब ८७ अर्ब र वित्त कम्पनीले ७५ अर्ब २८ करोड कुल लगानी गरेका छन् । ‘अहिले पनि बैंकरहरू उठ्नेसम्मको कर्जा असुल गर्ने प्रयासमा हुनुहुन्छ,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘६–७ महिना भइसकेकाले रिकभर हुन गाह्रो देखिँदै गएको छ ।’

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जामध्ये कोभिड–१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रमा प्रदान भएको कर्जा पुस मसान्तभित्र पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्यांकन गरेर ऋणीको लिखित कार्ययोजनाअनुसार भविष्यमा ऋण चुक्ता हुन सक्ने आश्वस्त भएपछि मात्रै बैंकहरूले कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सक्छन् । तर, यसअघि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल गर्ने व्यवस्था छ ।

यसरी पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएको कर्जाको ५ प्रतिशत रकम नोक्सान व्यवस्था भने गर्नुपर्छ । यस आधारमा करिब १५ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । यो अवधिमा पुनर्तालिकीकरण वा पुनर्संरचना नभएका कर्जा पछि गर्नुपरेमा भने १२ दशमलव ५ प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon