Rumpum Advertisement

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४० हजारको मृत्यु

Neuro
नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४० हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले बुधबार आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताए ।

कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनि वायु प्रदूषण बढ्दै गएको बताए । वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।

काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिए ।

वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उनले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गरे । धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताए ।

वायु प्रदूषणकै कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको डा ढुङ्गानाले जानकारी दिए ।

नेपालमा बर्सेनि वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उनले बताए । शहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढङ्गले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेलगायत कुरामा उनले जोड दिए । रासस