Rumpum Advertisement

कोरोनाबाट विश्वभर छ सय पत्रकारको मृत्यु

कोरोनाबाट विश्वभर छ सय पत्रकारको मृत्यु

विराटनगर । कोरोना भाइरसका कारण विश्वभर छ सयभन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । प्रेस स्वतन्त्रतासम्बन्धी संस्था प्रेस एम्ब्लेम क्याम्पेन (पीईसी)ले विश्वभरि कोरोनाका कारण छ सय दुई पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।

तीमध्ये आधाभन्दा बढी अर्थात् तीन सय तीन जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् । त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

देशअनुसार हेर्दा कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा भएको देखिएको छ । पेरुमा ९३ जनाको मृत्यु भएको उल्लेख छ । दोस्रो धेरै ब्राजिलमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बङ्गलादेशमा ४१ जना, इटालीमा ३७ जना र अमेरिकामा ३१ जनाको मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरूलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । रासस