Rumpum Advertisement

विकल्प प्रयोग गर्न दुहवी बजारबासीको आग्रह

Neuro
विकल्प प्रयोग गर्न दुहवी बजारबासीको आग्रह

विराटनगर / सुनसरीको दुहवी बजारबासीले विकल्प हुँदाहुँदै छ लेन सडकलाई विस्तार नगर्न माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूले बजारदेखि पश्चिम र बूढीखोलाको किनारबाट सडक लैजान सकिने भएकोले बजारबासीलाई विस्थापित गर्न नहुने बताएका हुन् ।

२०५४ साल चैत्त ३ गते बसेको मन्त्रिपरिषद् बैठकले दुहवी बजारलाई ‘विल्डअप एरिया’ घोषणा गरिसकेकोले त्यस क्षेत्रको सडक विस्तार गर्न नपाइने उनीहरूको दाबी छ ।

सरकारले लुनकरण च्यारिटी अस्पताल चोकदेखि इनरुवा जाने सडकसम्मको तीन सय ३० मिटर क्षेत्रलाई विल्डअप एरिया तोकेको उनीहरूले बताए । दुहवी विल्डअप एरिया सङ्घर्ष समितिका उपाध्यक्ष बिपी रौनियारले विकल्पको प्रयोग गरेर दुहवी बजारलाई जोगाइदिन अनुरोध गरे ।

अहिले दुहवी बजार क्षेत्रको सडक ५४ फिटको रहेको छ । छ लेन सडक आयोजनाले सडकको दुवैतर्फ १५–१५ मिटर विस्तार गर्न लागेको उनीहरूले जानकारी दिए ।

यसरी विस्तार गर्दा उक्त सडक ९८ फिट छ इन्चको हुने उनीहरूले बताए । त्यसमा झण्डै २० फिटको सेटब्याक रहँदा दुहवी बजारको कुनै पनि घर नरहने रौनियारले बताए ।

स्थानीयले सहयोग नगरे जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहको रोहवरमा भत्काउने भनेर पुस १८ गते राष्ट्रिय पत्रिकामा सूचनासमेत निकालेको उनीहरूले बताएका छन् ।

धेरै विकल्प हुँदाहुँदै बजारलाई नै उठाउनु ठीक नभएको सङ्घर्ष समितिका सदस्य शङ्कर रौनियारले बताए । करिब एक लाख स्थानीय उपभोक्ताको दैनिक उपभोग्य सामग्री किन्ने ठाउँ दुहवी बजार भएकोले त्यसलाई फेरि स्थापित हुन ५ वर्षभन्दा बढी लाग्नसक्ने उनले सुनाए ।

दुहवीको उक्त विल्डअप क्षेत्रमा दुई सय ५४ घरधुरी रहेका छन् । यदि, छ लेन सडक विस्तार भए सबै घरधुरी विस्थापित हुनुपर्ने छ ।