Rumpum Advertisement

विराटनगरका चिकित्सकलाई चुनाब लाग्यो, सङ्घमा सिलवाल र श्रेष्ठको प्यानल भिड्दै

Neuro
विराटनगरका चिकित्सकलाई चुनाब लाग्यो, सङ्घमा सिलवाल र श्रेष्ठको प्यानल भिड्दै

विराटनगर/नेपाल चिकित्सक सङ्घ कोसी शाखाको अध्यक्षमा दुई जनाले दाबेदारी प्रस्तुत गरेका छन् । आगामी नेतृत्वका लागि सङ्घका वर्तमान अध्यक्ष डा. फरवाड सिलवाल र डा. कैलाश श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका हुन् ।

अध्यक्षमा दुई जनाले दाबेदारी प्रस्तुत गरेपछि नयाँ नेतृत्वका लागि माघ ४ र ५ गते निर्वाचन मिति तोकिएको छ ।

सङ्घको नयाँ नेतृत्वका लागि सङ्घको वर्तमान अध्यक्ष सिलवाल र निजी अस्पतालहरूको संस्था अफिनका केन्द्रीय उपाध्यक्ष डा. कैलाश श्रेष्ठको छुटा–छुट्टै प्यानल बनाएका छन् ।

वर्तमान अध्यक्ष डा. सिलवालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा. नवीनकुमार कर्ण, उपाध्यक्षमा डा. यज्ञराज खरेल, महासचिबमा डा. राजेन्द्र चौधरी, सहसचिवमा डा., सुनिल रेग्मी, कोषाध्यक्षमा डा. शिलावन्त सेन श्रीवास्तव र संयुक्त कोषाध्यक्षमा डा. जुविन सिलवाल मैदानमा उत्रने भएका छन् । सदस्यमा डा. अन्जु देव, डा. अमरकुमार यादब, डा. पार्थ गुरागाई, डा. अमरेन्द्रकुमार महतो, डा. प्रेरणा दाहाल, डा. कृष्णप्रसाद नेपाल छन् ।

डा. श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा डा. बालकृष्ण साह, महासचिवमा डा. रविनराज सिंह, कोषाध्यक्षमा सुधिर श्रेष्ठले उम्मेदवारी दिनेछ । उम्मेदवारको पदाधिकारी र सदस्यको विषयमा बुधबार नै टुङ्गो लगाउनेछ ।

नयाँ निर्वाचित समितिले २०७७–२०८० सम्म काम गर्नेछ ।

चुनाबी मैदानमा उत्रिएका दुवै समूहले चिकित्सकहरूको पेशागत हकहित, समुचित वृत्ति विकास र सुरक्षाका लागि निरन्तर कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउन र चिकित्सकीय पहुँच बढाउन काम गर्ने, चिकित्सकहरुको नेतृत्व विकास, शैक्षिक र सीप विकास, शोध अनुसन्धानहरु बढाउनेलगायत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तो छ श्रेष्ठ नेतृत्वको टिमको प्रतिबद्धता :

१. नेपाल चिकित्सक सङ्घको प्रस्तावनामा उल्लेख भएअनुसार चिकित्सकहरुको हकहितको संरक्षण तथा सम्बद्र्धन गर्न सम्पूर्ण चिकित्सकहरुलाई सुसङ्गठित गराई कुशल नेतृत्व प्रदान गर्ने ।

२. नेपाल चिकित्सक सङ्घको उद्देश्यअनुसारः

क. सम्पूर्ण (निजी तथा सरकारी) चिकित्सकहरुको दक्षता अभिवृद्धिका लागि तथा तिनीहरुबाट प्रदान गरिने स्वास्थ्य सेवाको स्तरीयता उच्च राख्न नियमित तालिम, गोष्ठीहरुका लागि निरन्तर प्रयास गर्ने ।

ख. चिकित्सा पेशाको सम्मान र मर्यादाको संरक्षण र प्रबर्द्धन गर्ने ।

ग. चिकित्सकहरुबीच भाइचारा, सद्भाव, सहयोग एवं सहकार्य अभिवृद्धि गर्ने ।

घ. चिकित्सा क्षेत्रसँग सम्बन्धित रोग निवारण र रोकथामसम्बन्धी ज्ञान र सीपको दायरा अभिवृद्धि गर्न सोघ तथा अनुसन्धानका लागि वातावरण सिर्जना गर्ने, सहयोग गर्ने, प्रोत्साहन गर्ने सङ्घको शाखामा नीतिगत समिति (इथिकल कमिटी)को विकासका लागि पहल गर्ने, जर्नल तथा मुखपत्र प्रकाशन गर्ने, चिकित्सा ई–पुस्तकालयको विकास गर्ने ।

३. अस्पताल प्रशासन, चिकित्सक र बिरामीबीच बढ्दै गएको दुरी र यसले गर्दा हुने गरेको घटनाहरु कम गर्न सचेतना, समन्वय गर्ने।

४. समाजमा चिकित्सकय पहुँच बढाउन, दरबन्दीअनुसारको चिकित्सक नियुक्ति र आवश्यकताअनुसार दरबन्दी थप गराउन सम्बन्धित निकायहरुलाई दवाव दिँदै समन्वय गर्ने ।

५. चिकित्सकहरुको सेवा तथा सुविधामा एकरुपता दिँदै करार तथा अन्य बहानामा भइरहेको श्रमशोषणका विरुद्धमा सम्बन्धित निकायहरुलाई दवाव दिँदै समन्वय गर्ने ।

६. १५ वर्षअगाडि अधुरो रहेको र पारित नभएको चिकित्सकहरुलाई १ प्रतिशत भन्सार दस्तुरमा सवारीसाधन भित्र्याउन पाउने सुविधाका लागि पुनः पहल गर्ने ।

यस्तो छ सिलवाल नेतृत्वको टीमको प्रतिबद्धता :

१) चिकित्सकहरुको पेसागत हकहित, समुचित वृत्तिविकास र सुरक्षामा कटिबद्ध रहने ।

२) चिकित्सा शिक्षा उत्तीण गरी चिकित्सकीय पेसामा प्रवेश गर्नुहुने र नवचिकित्सकहरुको पेसागत विकासका लागि रोजगारीको व्यवस्था तथा तालिमहरुमा सहभागिता गराउनका लागि सदैव समन्वयकारी भूमिका निर्वाह गर्ने ।

३) सरकारी तथा निजी अस्पतालहरुमा विद्यमान रहेको चिकित्सकहरुको न्यून दरबन्दी तथा करार र ज्यालादारीको नाममा भइरहेको श्रमशोषणको विषयमा विषेश पहल गरी ठोस कदम चाल्ने ।

४) नेपाल चिकित्स सङ्घ कोसी शाखाको हालको भवन जीर्ण भएपश्चात डा. फरवार्ड सिलवाल नेतृत्वमा रहेको समितिले विगत लामो समयदेखि गरेको प्रयासलाई उच्च सम्मान गर्दै सो समितिको पहलमा नेपाल सरकारबाट भवन निर्माणका लागि केही रकम छुट्याएको र त्यसको निर्माणको क्रममा रहेको डिपिआरलाई निरन्तरता दिई अगाडि बढाउने ।

५) नेपाल चिकित्सक सङ्घ कोसी शाखाको २००७ सालदेखिको गौरवमय इतिहासलाई ध्यानमा राख्दै सङ्घको हालको भवन निर्माणमा योगदान पु¥याउने सम्पूर्ण चिकित्सकहरुको नाम नयाँ भवनमा शिलालेख गर्ने ।

६) विभिन्न बैङ्कक तथा बित्तीय संस्थासँग सम्बन्ध स्थापित गरी चिकित्सकहरुलाई सहुलियत दरमा ऋणलगायत सम्पूर्ण बैङ्किङ कार्यहरुका लागि सुरुवात भएको कार्यहरुलाई निरन्तरता दिने ।

७) चिकित्सकहरुको सहजता र हरेक प्रशासनिक कार्यमा सहयोग गर्नका लागि सङ्घको नयाँ भवन निर्माण गरी सो भवनलाई सुविधासम्पन्न सचिवालय र अत्याधुनिक अध्ययन केन्द्रको रुपमा विकास गर्ने ।

८) नेपाल चिकित्सक सङ्घको राष्ट्रिय सम्मेलन विराटनगरमा आयोजना गर्ने ।