Rumpum Advertisement

गण्डकी प्रदेशमा विशेष अधिवेशन सुरु

गण्डकी प्रदेशमा विशेष अधिवेशन सुरु

पोखरा/गण्डकी प्रदेशसभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मङ्गलबारदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।

गण्डकी प्रदेशसभाको यस विशेष अधिवेशनमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको बारेमा साझा सङ्कल्पको रुपमा प्रस्तुत गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका वहुवर्षीय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्बन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनबीच मुख्यमन्त्री गुरुङले आफू अल्पमतमा नपर्ने दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका प्रदेशसभा सदस्य दीपक कोइरालाले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको पक्षपोषण गरिरहेको र आफूहरुले उक्त कदमको विरोध गरिरहेका कारण नयाँ सरकारका निम्ति नयाँखालको गठबन्धनको खोजी हुने बताए । कस्तो गठबन्धन बन्ने भन्ने तय भइनसकेको भन्दै उनले नेकपाको पार्टी आधिकारिकताको विवादका कारण निर्णय गरेर अघि बढ्न नसकेको उनको भनाइ छ ।

जनता समाजवादी पार्टी, नेपालका प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेशसभाको अधिवेशनमा सार्वजनिक महत्वको प्रस्ताव छुट्टै बनाएर पेश गर्ने र सङ्कल्प प्रस्ताव भने साझा रुपमा पेश गर्ने सहमति भएको बताए । सत्तारुढ दलले बलियो सरकार बनाउन जनमत पाएको भए पनि हरियो जङ्गल फाँडेर मरुभुमि बनाएको टिप्पणी गरे । जसपाको ध्यान सरकारतर्फ नभएको उनको भनाइ छ ।

गण्डकी प्रदेशसभाको अर्को बैठक पुस २६ गते बोलाइएको छ । २६ गते सार्वजनिक महत्वको विषयमा छलफल गरिने र हप्ता दिनपछि बस्ने बैठकमा कोभिड–१९ को बारेमा साझा सङ्कल्प प्रस्तुत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: