Rumpum Advertisement

नेता कि थिएटरका अभिनेता ?

नेता कि थिएटरका अभिनेता ?

आम्मामामा…… ! नेता ठानिएकाहरू के सारो छाडा भा’का ? भाषा कति झुरेस्ट ! यिनको भाषा सुनेर त कन्टिर–बाबूलाई पनि लाज लागेर आउँछ ।

त्यसो त कन्टिर–बाबूको भाषा पनि त्यति राम्रो होइन । यदाकदा उनी पनि ’रफ’ बोल्छन् । तर, हैट यी नेता भनिएकाहरूले त कन्टिर–बाबूको पनि कान काट्ने क्या !

तथानाम, मनपरी बोल्या’छ । जथाभावी, निम्नस्तरको वचन प्रयोग गर्‍या छ, गर्‍या छ । उखान–टुक्का हाल्या’छ, विदूषक बन्या’छ, लोकलाई हँसाएको छ ।

एक–अर्कालाई तँ–तँ, म–म गर्‍या’छ … यो देखाइदिन्छु, त्यो देखाइदिन्छु भन्या’छ । धत्, लाजको पसारो … बोल्नेलाई भन्दा सुन्नेलाई लाज !

यस्तोमा कन्टिर–बाबूलाई मात्र लाज लागेर के गर्नु ? बनारसतिरका फक्कर सम्मेलन वा रमाइलो मेलाका थिएटरभित्र प्रयोग हुने जस्ता शब्द र हाउभाउ कति हेर्नु ? न देखाउने यी (कु)नेताहरूलाई रतिभर शरम छ, न यिनका कुरा सुनेर ताली बजाउनेहरूलाई कुनै लाज छ ।

नेता भनिएका र यिनका अगुवा–पछुवाहरू सब जना लाज–घिन पचाएर थेथर भइसकेका छन् ।

तर कन्टिर–बाबू भने गम्भीर छन् । सोच्छन्, आखिर यिनले भावी–पुस्तालाई राजनीतिका नाममा सिकाउन चाहिँ के खोज्या हुन् ?

रहल-पहल शरम गर शरम … ओ (कु)नेताजीहरू !

प्रतिक्रिया दिनुहोस्: