Rumpum Advertisement

कोभिड सम्बन्धित पेटको लक्षणलाई बेवास्ता गर्न नहुने

कोभिड सम्बन्धित पेटको लक्षणलाई बेवास्ता गर्न नहुने

विराटनगर/ज्वरो, सुख्खा खोकी र थकानका सामान्य लक्षणबाहेक कोभिडले पेटसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ ।

पाँचमध्ये एक कोभिडका सङ्क्रमितले पेटमा हुने समस्यासम्बन्धी लक्षणहरू जस्तैः वाकवाकी लाग्ने, बान्ता र झाडापखाला अनुभव गर्न सक्ने अध्ययनले देखाएको छ । वुहानमा गरिएको एक अनुसन्धानअनुसार १० प्रतिशत सङ्क्रमित ज्वरो आउनुभन्दा दुई दिनअघि वाकवाकी र झाडापखालाको समस्याबाट पीडित भएका थिए ।

कोरोना भाइरसले पेटको सूक्ष्मजीवहरूलाई पनि प्रभाव पार्ने क्षमता राख्छ, जसले पेटको स्वास्थ्यलाई असर गर्न सक्छ । अनुसन्धानले पत्ता लगाएअनुसार पाँचमध्ये एक सङ्क्रमितमा पखाला र पेटको दुखाइको कारणले पेटमा असुविधा बढ्छ । पेटसम्बन्धी लक्षणहरू विकास भएका सङ्क्रमितमा अन्यको तुलनामा शरीरबाट भाइरस फिल्टर गर्न लामो समय लिन्छन् ।

कोभिडले खाने बानीलाई पनि असर गर्न सक्छ । विशेषगरी गन्ध र स्वाद हराएको अनुभव गर्दै आएकामा भोक हराउने वा खान मन नलाग्ने हुन सक्छ । चीनमा गरिएको एउटा अनुसन्धानका अनुसार देशभरि ८० प्रतिशत कोभिड सङ्क्रमितले खान मन नलागेको वा भोक हराएको अनुभव गरेका थिए ।

पखाला, पेटको दुखाइ वा वाकवाकी लाग्ने समस्याले निश्चित रुपमा कोभिडको सङ्क्रमण भएको सङ्केत गर्दैन । यो सङ्क्रमणको सम्भावित लक्षण हुन सक्छन् । यदि पेटको समस्या कोभिडसँग जोडिएको छ भने सबैभन्दा पहिले र सबैभन्दा महत्त्वपूर्ण कदम भनेको घरमा बस्नु र अरूबाट आफूलाई अलग राख्नु हो । प्रशस्त मात्रामा पानी पिउने, स्वस्थ खानपानमा ध्यान दिई सबै सावधानी अपनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्: