Rumpum Advertisement

प्रदेश १ को एउटै चिनी उद्योग, उखुमा छैन भुक्तानीको समस्या

प्रदेश १ को एउटै चिनी उद्योग, उखुमा छैन भुक्तानीको समस्या

विराटनगर । वर्ष दिनभरि मेहनत गरेर उखु उत्पादन गरे पनि चिनी उद्योग (सुगर मिल्स)बाट समयमा कृषकले भुक्तानी नपाउने गरेको समस्या पछिल्लो समय तड्कारो रुपमा उठिरहेको छ ।

यो समस्या वर्षैपिच्छे आउने गरेको छ । कृषकले उखु उत्पादन गरेर मिलसम्म पुर्‍याउने गरे पनि विभिन्न बहानामा भुक्तानी दिन आलटाल गरिन्छ । आफूले गरेको दुःखको कमाइ लिन उखु किसानले ठूलै सङ्घर्ष गर्नु पर्छ । केही दिनअघि काठमाडौंमा विभिन्न ठाउँबाट पुगेका कृषकले आन्दोलन गरे । उखुको भुक्तानीका लागि आन्दोलन गर्न गएका कृषकको निधन नै भयो ।

नगदे बालीका रुपमा रहेको उखुलाई वर्षौदेखि आम्दानीको आधार बनाउँदै यसकै खेतीमा लागेका कृषक चिनी उद्योगबाट भुक्तानी नपाउने समस्याको मारमा परिरहेका हुन्छन् । राज्यबाट पनि यसको उचित समाधान खोज्ने प्रयास भएको पाइँदैन । एक पटक लगाएको उखुले कम्तीमा पनि तीन वर्षसम्म निरन्तर उत्पादन दिन्छ । हुर्किएका बिरुवा निकालेर अर्को वर्षका लागि सानालाई गोडमेल गरे मात्रै पुग्छ । उत्पादन कम हुँदै जाने भएकाले तीन वर्षपछि त्यही ठाउँमा नयाँ उखु लगाइन्छ ।

उखु लगाएर तीन कमाइ खाइसकेका सुनसरी, मोरङ र झापाका कृषकलाई यतिबेला उखु लगाउने चटारो छ । कृषकका अनुसार असोज–कात्तिक र पुस–माघ उखु लगाउने उपयुक्त समय हो । विशेष गरेर असोज–कात्तिकमा लगाउँदा उखुले राम्रो उत्पादन दिने गरेको छ । चिनी मिललाई जानकारी गराएर कृषकले उखु लगाउनुपर्छ । ‘कति क्षेत्रफलमा उखु लगाउने हो भनेर रजिष्ट्रेसन फारम भरेर सुरुमै मिललाई जानकारी दिनुपर्छ,’ विराटनगर महानगरपालिका–४ का उखु कृषक बलराम यादवले भने ‘कुनै विवरण नबुझाए मिलले नलिने भएकाले उखु बिक्री गर्न गाह्रो हुन्छ ।’

उनका अनुसार प्रति वर्ष एक बिघाबाट छ सयदेखि एक हजार क्विन्टलसम्म उखु उत्पादन हुन्छ । एक बिघामा उखु लगाउन ८० हजार रुपैयाँभन्दा बढी खर्च हुने यादवले बताए । । त्यसबाहेक प्रति क्विन्टल एक सय २० रुपैयाँ मजदुर र ५० रुपैयाँ चिनी उद्योगसम्मको ढुवानी खर्च लाग्ने उनले बताए । यादवका अनुसार एक बिघाबाट वार्षिक झन्डै एक लाख रुपैयाँसम्म आम्दानी हुने भएपछि कृषकले आफ्नो जग्गामा उखु रोप्ने, हुर्काउने र बाली तयार भएपछि उद्योगलाई बेच्ने कामलाई निरन्तरता दिइरहेका छन् ।

उनका अनुसार कृषि औजारले माटो तयार पार्दै उखुको सिँगो लांक्रो (डण्ठी)लाई टुक्रा बनाएर नयाँ बिउका रुपमा रोप्ने गरिन्छ । माटो तयार भएपछि मल र बिउको पनि जोहो गर्नु पर्छ । पुस पहिलो साताबाट यस वर्षको उखु काट्न सुरु भएको छ । ‘मजदुर खोज्दै उखु काटेर मिलमा लैजाने हतारो कृषकलाई छ,’ उनले भने, ‘कतिपय ठाउँमा नयाँ लगाउने चटारो पनि उत्तिकै छ ।’

पूर्वका सुनसरी, मोरङ र झापामा चार हजार छ सय बिघा जमिन उखु खेती हुने गरेको उखु उत्पादक संघ कोसीले जनाएको छ । संघका अनुसार बर्सेनि सुनसरीमा नौदेखि १० लाख क्विन्टल, मोरङमा पाँच लाख हाराहारी र झापामा लगभग १५ हजार क्विन्टल उखु उत्पादन हुँदै आएको छ । तीनवटै जिल्लामा दुई हजार चार सय बढी कृषक उखु खेतीमा आवद्ध रहेको बताइएको छ ।

यहाँका कृषक चिनी मिलकै भरमा उखुको खेती गर्छन् । केहीले मात्रै जुस र सख्खर बनाउन उखु प्रयोग गर्छन । मिलमा निर्भर हुनपर्ने भएकाले खेती गर्नुअघि कति खेती गर्ने लगायतका सबै विवरण मिललाई उपलब्ध गराउनुपर्ने अवस्था रहेको कृषकको भनाइ छ ।

प्रदेश १ मा एउटा मात्रै सुगर मिल छ । सुनसरीको बर्जु गाउँपालिका–५ अमाहीबेलामा रहेको इस्टर्न सुगर मिल्सले सुनसरी, मोरङ र झापाका कृषकबाट उखु लिएर चिनी तयार गर्छ । मुलुकका अन्य चिनी उद्योगले कृषकलाई समयमा भुक्तानी नदिने समस्या बल्झिइरहेका बेला इस्टर्न सुगर मिल्सको समस्या भने दुई वर्षअघि नै समाधान भइसकेको छ ।

‘उखु लगाउन मेहनेत निकै छ । लगानी पनि उत्तिकै,’ कृषक यादव भन्छन्, ‘तर उत्पादन गरेर मिलमा लगिसकेपछि समयमा भुक्तानी नपाउने समस्या पनि यदाकदा आउने गरेको छ । तर प्रदेश १ मा भुक्तानीमा देखिएको समस्या दुई वर्षदेखि हल भइसकेको छ ।’ उनका अनुसार पूर्वका कृषकले पनि उखुको भुक्तानीमा दुई वर्षअघिसम्म निक्कै हण्डर बेहोरेका थिए । समयमा भुक्तानी नपाएका कतिपय कृषकले विकल्पमा अरु खेती पनि रोजे ।

पहिले गोल्छा ग्रुपको मात्रै रहेको इस्टर्न सुगर मिल्स सञ्चालनमा दुई वर्षअघि विशाल ग्रुप पनि थपिएपछि मिलबाट भुक्तानीमा समस्या नरहेको बताइएको छ । दुई वर्षअघिसम्म कृषकले प्रति क्विन्टल ३० देखि ४० रुपैयाँसम्म नोक्सानी बेहोरेर उखु बेच्नुपर्ने अवस्था थियो । घाटामा नबेचे मिलले नलिने हुँदा खेतमै सुकेर जाने अवस्था पनि थियो ।

तर दुई वर्षयता सरकारले तोकेअनुसार भुक्तानी गर्न कुनै समस्या नरहेको मिल्सका उखु प्रबन्धक धरमचन्द सिंहले बताए । उनका अनुसार मिल्सबाट चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारबाट ६५ रुपैयाँ २८ पैसा गरेर कृषकलाई प्रति क्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा उपलब्ध हुन्छ ।

सिंहले यस वर्ष मिल्सले पुस २ गतेबाट उखु लिएर क्रसिङ गर्दै चिनी उत्पादन गर्न थालेको बताए । अहिलेसम्म दुई लाख क्विन्टल उखु कृषकबाट लिइसकिएको र यस वर्ष १४ लाख क्विन्टलभन्दा बढी उखु लिएर चिनी उत्पादन गर्ने योजना मिल्सको रहेको उनले सुनाए । ‘मिल्सलाई उखु दिएका कृषकलाई पैसा उपलब्ध गराउने योजना अनुसार पुस २२ गते बुधबार (आज) बाट भुक्तानी सुरु हुन्छ,’ सिंहले भने, ‘उद्योगबाट सरकारले तोकेअनुसार भुक्तानी गर्न कुनै पनि समस्या छैन ।’ उनले पूर्वका उखु कृषक चिनी मिलकै भर परेर खेती गर्ने भएकाले उनीहरुलाई धोका दिन हुँदैन भन्ने पक्षमा उद्योग व्यवस्थापन रहेको सुनाए ।

मजदुर र खर्चको अभाव झेल्दै कृषकले रोप्न, गोडमेल, कटाइ, ढुवानीसम्म निरन्तर मेहनत, स्याहार र लगानी गरिरहेको कुरा उद्योगले बुझेको उनको भनाइ छ । एकपल्ट रोपेपछि सामान्य हेरचाह गर्न सके तीन वर्षसम्म लाभ लिन मिल्ने भएकाले उखु खेती अरुभन्दा केही सजिलो रहेको सिंहले बताए । नगदे बाली उखुको खेतीमा कृषकलाई उत्साहित गर्न सके मुलुकमा आवश्यक पर्ने चिनी बाहिरबाट ल्याउन नपर्ने र नेपालबाटै अन्यत्र चिनी निर्यात गर्न सकिने सिंहको बुझाइ छ । पानी जम्ने, कम मलिलो, अम्लिए, क्षारीय, सिँचाइ नहुने माटोमा उखु रोप्न मिल्ने र असिना, धेरै चिसो, छाडा गाईवस्तुले धेरै नोक्सान नपुर्‍याउने उनले बताए ।