Rumpum Advertisement

नेकपा मोरङको दाहाल–नेपाल समूहद्वारा संघर्ष समिति गठन

नेकपा मोरङको दाहाल–नेपाल समूहद्वारा संघर्ष समिति गठन

विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई प्रतिगामी भन्दै त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको दाहाल–नेपाल समूहले एक हजार पाँच सय एक सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संघर्ष समिति गठन गरेको हो । मंगलबार विराटनगरमा बसेको जिल्ला सचिवालयको बैठकले नेकपा मोरङका सचिव गणेश उप्रेती सुशिल संयोजक र सचिवालय सदस्य पारुल क्षेत्री सह–संयोजक रहेको संघर्ष समिति गठन गरेको छ।

नेकपा मोरङको ६९ सदस्यीय सचिवालय रहेकोमा बैठकमा ३७ जना उपस्थित रहेका थिए । बैठकले सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरु, नगरक मिटीका सदस्यहरु, पालिका कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला कमिटीका सदस्यहरु सम्मिलित संघर्ष समिति गठन गरेको केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए ।

बैठकले नेकपा केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतको संयोजकत्वमा निर्देशक समिति पनि गठन गरेको छ । पार्टीले घोषणा गरेको संघर्ष लगायतका कामहरुलाई सहि दिशामा लैजान निर्देशक समितिले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । बस्नेतको संयोजकत्वमा गठन भएको निर्देशक समितिमा केन्द्रीय सदस्यहरु र प्रदेश कमिटी सदस्यहरु रहनेछन् ।

बैठकले पार्टी एकताको कामलाई सम्पन्न गर्न सचिव उप्रेतीको संयोजक र चण्डी राई सहसंयोजक रहेको कार्यदल गठन गरेको छ । कार्यदलले एक हप्ताभित्र पार्टी एकताको बाँकी काम सम्पन्न गर्न आवश्यक सुझाव दिने बताइएको छ ।

बैठकले पुस २५ गतेभित्र सबै कमिटीहरुको बैठक सम्पन्न गर्ने, पुस २५ र २९ गते जिल्लाका १७ वटै पालिकाहरुमा वृहत कार्यकर्ता भेला राख्ने, त्यसै अवधिमा जनसंगठनको भेला, प्रशिक्षण र एकताको काम सम्पन्न गर्ने र संघर्षको कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ । नेकपा मोरङको दुई सय छ जनाको जिल्ला कमिटी रहेकोमा बहुमत अर्थात एक सय पाँच जना आफूतिर रहेको र कतिपयले निर्णय गरिनसकेको पार्टीका सचिव उप्रेतीले जानकारी दिए । हाम्रोमत दैनिकमा समाचार छ