Rumpum Advertisement

आज मिलान र युभेन्टस भिड्दै

Neuro
आज मिलान र युभेन्टस भिड्दै

विराटनगर । इटालियन सिरी ‘ए’मा आज साविक विजेता युभेन्स र लिग लिडर एसी मिलान आमने–सामने हुँदैछन् । नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने यो खेल मिलानको मैदानमा हुनेछ ।

सान सिरोमा हुने यस खेलमा घरेलु टोली आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा हुनेछ । पछिल्लो समय आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखेको मिलान सिरी ‘ए’ लगभग आधा सिजन सकिँदासम्म अपराजित छ ।

सिरी ‘ए’को उपाधि होडमा अब्बल देखिएको ऊ युरोपका शीर्ष पाँच लिगमा एक मात्र अपराजित टोली हो । १५ खेल खेलेको मिलानले ११ जित र ४ बराबरीसँगै ३७ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग ३६ अङ्क छ ।

युभेन्टस भने २७ अङ्कका साथ पाँचौं स्थानमा छ । यद्यपि, युभेन्टसले १४ खेल खेलेको छ । युभेन्टस भने मिलानलाई उसैको मैदानमा हराएर ऊसँगको अङ्कदूरी घटाउने दाउमा हुनेछ ।

मिलान र युभेन्टसबीचको खेलमा स्ट्राइकरद्वय ज्लाटान इब्राहिमोभिक र क्रिस्टियानो रोनाल्डो आकर्षणको केन्द्रमा हुनेछन् । यी दुवै खेलाडी लयमा देन्छिन् । उमेरले ३९ वर्ष पुगेका इब्राहिमोभिकले सिरी ‘ए’मा ६ खेल खेल्दा १० गोल गरेका छन् ।

यता, ३५ वर्षीय रोनाल्डोले भने ११ खेलमा १४ गोल गरेका छन् ।