Rumpum Advertisement

संविधानअनुसार प्रतिनिधिसभा सुचारु हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ

संविधानअनुसार प्रतिनिधिसभा सुचारु हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा सुचारु हुनेमा ढुक्क रहेको बताएका छन् । मङ्गलबार बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा सुचारु हुनेमा आफूहरू ढुक्क रहेको बताएका हुन् ।

संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद् विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद् विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमति बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सरकार बनाउन नसक्ने अवस्थामा संसद् आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै अधिकार नभएको उनले बताए । संविधानको धारा ७६ को कुनैपनि उपधारामा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधिसभा विघटन गरेको भन्ने आम रूपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वाससमेत व्यक्त गरे ।

त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनको भनाइ छ ।