Rumpum Advertisement

कृषिमा प्रत्यक्ष वैदेसिक लगानी खारेज गर्न माग

कृषिमा प्रत्यक्ष वैदेसिक लगानी खारेज गर्न माग

काठमाडौँ/कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेसिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।

डेरी उद्योग सङ्घ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ र केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घले मङ्गलबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी कृषिमा वैदेसिक लगानी ल्याउने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएका हुन् । कृषि क्षेत्रमा देशकै निजी क्षेत्रबाट अर्बौ लगानी भइराखेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कृषिमा वैदेसिक लगानी भित्र्याउँदा देशको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताए । निजी क्षेत्रको अर्बौँ लगानी रहेको क्षेत्रमा सरोकारवालाहरुसँग कुनै सरसल्लाह नगरी किसानको हित विपरित चालिएको कदम तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले अहिलेसम्म लगानी गरेर आधार तयार गरेको क्षेत्रमा प्रतिफल पाउने बेलामा वैदेसिक लगानी ल्याउनु गलत हुने बताए । सरकारले कसैलाई पनि थाहै नदिई राजपत्रमा प्रकाशित गरिसकेकाले तत्काल फिर्ता लिनुपर्ने बताए ।

किसान अभियन्ता उद्वव अधिकारीले राजनीतिक अस्थिरता र जनप्रतिनिधिहरुको प्रतिनिधिमूलक संस्था नभएको अवस्थामा सरकारले शङ्कास्पद तरिकाले कृषिमा वैदेसिक लगानी ल्याउने निर्णय गरेको बताए । कृषिमा देशभित्रकै लगानी प्रयाप्त भएको अवस्थामा राम्रो योजना दिनुपर्ने ठाउँमा प्रत्यक्ष वैदेसिक लगानी ल्याउने निर्णय गरेर सरकारले गलत गरेको बताए । कृषिको प्रारम्भिक उत्पादनका लागि विदेशी लगानी ल्याउनै नहुने अधिकारीले बताए ।

सरकारले मन्त्रिपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्तसहित डेरी उद्योग, पशुपक्षीपालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारीलगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेसिक लगानी खुल्ला गर्ने निर्णय गरी पुस २० गते राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै थाहा पाएका कृषि क्षेत्रका सरोकारवालाहरुले सरकारको यस्तो निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेका छन् । उनीहरुले यस्तो निर्णयलाई खारेज गराउन विभिन्न सङ्घर्षका कार्यक्रम गर्नेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: