Rumpum Advertisement

भारतका विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण

Neuro
भारतका विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण

विराटनगर/भारतमा विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ ।

हालसम्म हिमाञ्चल प्रदेश, राजस्थान, केरेला र मध्यप्रदेशमा बर्ड फ्लु (एच फाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस)को सङ्क्रमण फैलिएको पुष्टि भएको छ । सोमबार मात्र हिमाञ्चलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका १८ सयभन्दा बढी आप्रवासी हाँसमा बर्ड फ्लुको सङ्क्रक्मण पुष्टि भएको हो ।

आरक्षका प्रमुख संरक्षक अर्चना शर्माका अनुसार बरेलीस्थित भारतीय पशु अनुसन्धान संस्थानको प्रयोगशालाले मृत चराहरूको नमूनामा एभिएन इन्फ्लूएन्जा भेट्टाएको छ । उनले त्यहाँ मरेका चराहरुमध्ये ९ प्रतिशत आप्रवासी हाँस भएको जनाएकी छिन् । बर्सेनि लाखको हाराहारीमा हाँसको यो प्रजाति हिमालय क्षेत्र पार गर्दै मध्य एसिया, रुस, मङ्गोलियालगायतका क्षेत्रबाट त्यहाँ आउने गर्छन् ।

सङ्क्रमण पुष्टि भएपछि आरक्ष प्रशासनले पर्यटक र स्थानीयको प्रवेशमा रोक लगाएको छ । त्यसैगरी फतेहपुर, देहरा, जवाली, इन्दोरालगायतका क्षेत्रमा कुखुरा, हाँस र तिनको मासु र अण्डालगायतका उत्पादन खरिद बिक्री र निकासी गर्न प्रतिबन्ध लगाइएको छ । बर्ड फ्लूको प्रोटोकलअनुसार मरेका चराहरूलाई डिस्पोज गरिएको छ ।

राजस्थान आधा दर्जन जिल्लामा कागहरू मरेपछि बर्ड फ्लू अलर्टको चिन्ता व्यक्त गरिएको थियो । मध्यप्रदेशको इन्दोरमा मरेका ५० भन्दा बढी कागमा बर्ड फ्लू भएको पुष्टि गरिएको छ । सोमबार राजस्थानका केही जिल्लामा एक सय ७० भन्दा बढी नयाँ चराहरूको मृत्यु भएको देखियो र पछिल्लो दिनमा कुल मृत्युमा चार सय २५ भन्दा बढी पुगेको छ ।

हालसम्म राजस्थानका १५ जिल्लामा चराहरूको मृत्यु भइरहेको रिपोर्ट गरिएको छ । त्यस्तै केरलको कोट्टायममा रहेको फार्ममा बर्ड फ्लूको कारण करिब १५ सय हाँसको मृत्यु भएको छ । स्थानीय प्रशासनले कोट्टायम र अलाप्पुझा जिल्लाका प्रभावित क्षेत्रमा एक किलोमिटरभित्रका हाँस, कुखुरा र अन्य घरमा पालिएका पक्षीलाई मार्न आदेश दिइसकेको छ ।

अधिकारीहरूका अनुसार एच फाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरसको प्रसार जाँच गर्नका लागि लगभग ४० हजार चरा मारिने छ । बर्ड फ्लू एच फाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरसले गर्दा हुने चरामा अत्यधिक सङ्क्रामक र गम्भीर श्वास रोग हो, जसले कहिलेकाहीँ मानिसहरूलाई समेत सङ्क्रमित गर्छ ।