Rumpum Advertisement

पाँच चिहानमा गुमेको विवेक

Neuro
पाँच चिहानमा गुमेको विवेक

एक दिन घुम्दै–फिर्दै कन्टिर–बाबू आधुनिक नेपाल राष्ट्र निर्माणको प्रारम्भ–बिन्दुमा पुगे ।

ए … यही हो आधुनिक नेपाल निर्माणको प्रस्थान–बिन्दु ? एक जना लिगलिगकोटेलाई कन्टिर–बाबूले सोधे ।

‘तपाई ठिक ठाउँमा हुनुहुन्छ …,’ उनले भने ।

ती लिगलिगकोटेका अनुसार चेपे नदीकिनारबाट दगुरेर, दौड प्रतियोगिता जितेर द्रव्य शाह विक्रम संवत् १६१५ मा यही लिगलिगकोटको राजा बनेका थिए रे ! त्यहीँबाट उनका सन्तति नेपाली माटोमा शासकका रूपमा स्थापित भएका रहेछन् ।

लिगलिगकोटलाई प्रस्थान–बिन्दु मान्दा द्रव्य शाहकै सन्ततिले नेपाली भूमिमा कुनै न कुनै रूपमा चार सय ५२ वर्षसम्म शासन गरेको कुरा इतिहास हो कि मिथक ? कन्टिर–बाबू अहिलेसम्म अन्योलमै भुमरिएका छन् ।

तथापि लिगलिग कोट यात्रामा कन्टिर–बाबूले नेपाल राष्ट्र निर्माणसँग जोडिएका थुप्रै प्रचलित कथन र विवाद सार्वजनिक हुन बाँकी रहेको थाहा पाए ।

एकथरि मत छ– द्रव्य शाह चेपेबाटै दगुरेका थिए । अर्कोथरि मत छ– शाह दौडमा बीच बाटोमा मिसिएका थिए र अन्य प्रतिस्पर्धीले विरोध गर्दा शाहले पाँच जनाको हत्यासमेत गरेका थिए, जुन ठाउँ अहिले पाँच चिहानका नामले प्रसिद्ध छ । अर्को एउटा फरक मत पनि छ– द्रव्य शाह नदगुरिकनै षडयन्त्र गरेर राजा बनेका थिए ।

सत्य जेसुकै होस् । कन्टिर–बाबू नेपाल निर्माणको इतिहाससँग जोडिएको द्रव्य शाह प्रसङ्गको तुलना वर्तमान राजनीतिसँग गर्छन् । पवित्र–अपवित्र जस्तोसुकै काम गरेर जोसुकै व्यक्ति द्रव्य शाह शैलीमा सत्तामा पुग्न चाहन्छन् । यो चाहिँ फरक मत नरहेको सत्य हो ।

अरे यार ! सत्तामा पुग्न नियम, कानुन, विधान, प्रक्रिया कुनै पनि कुराको ख्याल नगर्ने हो भने द्रव्य शाह र तिनका खलकको विरोध किन गर्नु ? तिनमा र यिनमा के फरक छ ? दुवैथरि तिकडमबाज ! अहिलेका तिकडमेहरू पनि राजै बन्न चाहेका त हुन् नि, नसकेका मात्रै न हुन् ।

सोच्दा–सोच्दै कन्टिर–बाबू पाँच चिहाननजिकै पुगे, जहाँ केहीबेर उभिएर उनले स्थानीयसँग बात मारे । स्थानीयले आधुनिक नेपाल निर्माण यात्राको प्रारम्भ नै हिंसाबाट भएको चर्चा गर्दा कन्टिर–बाबूले कुरा काट्ने ठाउँ पाएनन् ।

नेपाल निर्माणको प्रस्थान–बिन्दुमै अविवेकी काम भएको रहेछ । नेपाल दरबारमा कसैको पनि विवेक नरहोस् भनेर सतीले सरापेको (१७०६) त अलि पछि मात्र पो रहेछ ।

कि कसो हो आफूखुसी शासन गरिरहेका अविवेकी छोटे–बडे सिंहदरबारेहरू ?