Rumpum Advertisement

सत्ता जोगाउन जम्बो मन्त्रिमण्डल बनाइँदै

‘सांसदलाई हाताहाती मन्त्री अफर, प्रतिपक्षलाई सरकारमा साझेदारी प्रस्ताव’

Neuro
सत्ता जोगाउन जम्बो मन्त्रिमण्डल बनाइँदै‘सांसदलाई हाताहाती मन्त्री अफर, प्रतिपक्षलाई सरकारमा साझेदारी प्रस्ताव’

विराटनगर / दुई–तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अविश्वासको प्रस्ताव दर्ता भएसँगै एक सातादेखि अल्पमतमा छन् । गत आइतबारदेखि अल्पमतमा परेका मुख्यमन्त्री राईले सत्ता जोगाउन प्रचण्ड–माधव समूहका सांसद तथा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसलाई फकाउन थालेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहमा ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये एक जना उदयपुरकी सांसद कला घले ओली पक्षमा आएकी छन् ।

४७ सांसद आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव समूहका नेताको दाबी छ । सो समूहको दाबी अनुसार ६७ प्रदेशसभा सदस्यमध्ये २१ जना ओली पक्षका छन् । तर अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका र ओली समूहमा नलागेका केही सांसद ‘तटस्थ’ देखिएका छन् । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा हुने १६ सांसदलाई निलम्बन गरेको ओली समूह प्रस्तावमा हस्ताक्षर गर्ने तर निलम्बन नगरेका २० र अन्य मौन बसेका सांसदलाई फकाउने प्रयासमा लागिपरेको छ ।

प्रदेश १ को हिउँदे अधिवेशन ७ माघमा बोलाइएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री राईको दौडधूप बढेको छ । आफ्नो पक्षमा बहुमत जुटाउन नाना प्रयास गरिरहेका छन् । बहुमतका लागि उनले प्रचण्ड–माधव समूहका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री पद प्रस्ताव गरिरहेका छन् ।

मुख्यमन्त्री राईले २१ जना प्रदेशसभा सदस्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई पनि सत्ता साझेदारीका लागि आग्रह गरिरहेको छ । उनले सरकार जोगाउन काङ्ग्रेससहित साना दलसँग पनि छलफल गरिरहेका छन् । साना तीन दलसँग पाँच सांसद छन् ।

प्रदेश १ मा नेपाली काङ्ग्रेस जता ढल्कियो उतै सरकार बन्ने अवस्था छ । प्रचण्ड–माधव समूह र ओली समूहले एक्लै सरकार बनाउन सक्ने अवस्था छैन ।

कित्ता परिवर्तन गरे मन्त्री उपहार

मुख्यमन्त्री राईसहित ओली समूहका नेताले माधवकुमार नेपालनिकट सांसदलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् । नेकपा प्रदेश इन्चार्ज तथा प्रचण्ड–माधव समूहका नेता भीम आचार्यसँग असन्तुष्ट रहेका सांसदलाई ओली समूहले फकाउने प्रयास गरिरहेको हो ।

फकाउनका लागि मन्त्री पदसहित आगामी चुनावका लागि आर्थिक सहयोगको प्रस्ताव आएको सांसदहरू बताउँछन् । नेकपाका प्रदेश सांसद कुलप्रसाद साम्बा (कुशल)ले आफूलाई मन्त्री पदको अफर आएको बताए ।

आफ्नो सरकार जोगाउन मुख्यमन्त्री राईले आफूहरूलाई मन्त्रीको पद र आर्थिक प्रलोभन देखाएको उल्लेख गर्दै उनले आफूले त्यो अस्वीकार गरेको बताए । सिद्धान्तमा कटिबद्ध रहेर पार्टीलाई रक्षा गर्दै अघि बढ्ने आफ्नो स्वभाव भएकाले आफू त्यस्तो प्रलोभनमा नफस्ने उनको भनाइ छ ।

महिला सांसदलाई पनि ओली समूहले मन्त्री पदको प्रस्ताव गरिरहेको छ । ‘मलाई पनि मन्त्री पद र पैसाको प्रलोभन आएको थियो । अहिले पनि आइरहेको छ,’ प्रचण्ड–माधव समूहकी एक महिला सांसदले भनिन्, ‘प्रलोभन धेरै देखाएका छन् ।’

प्रदेशमा १९ जनासम्मको मन्त्रिमण्डल बनाउन सक्ने प्रावधान छ । तीन वर्ष १० महिना छरितो मन्त्रिमण्डल बनाएका मुख्यमन्त्री राईले आफ्नो सत्ता टिकाउने सर्तमा जम्बो मन्त्रिमण्डल बनाउन तयार रहेको नेकपा ओली समूहका एक नेताले बताए । प्रचण्ड माधव समूहले पनि सांसदलाइ मन्त्री बनाउने अाश्वासन दिइरहेकाे छ ।

काङ्ग्रेसलाई सहकार्यको प्रस्ताव

प्रदेश १ मा नेपाली काङ्ग्रेस जता ढल्कियो उतै सरकार बन्ने अवस्था छ । प्रचण्ड–माधव समूह र ओली समूहले एक्लै सरकार बनाउन सक्ने अवस्था छैन ।

सरकार बनाउनका लागि सत्तारुढ दलका दुवै समूहले अफर गरिरहेको नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बताए । ‘मुख्यमन्त्रीले काङ्ग्रेसको भरोसा गरेर अविश्वास प्रस्तावको सामना गर्छु भन्दै हुनुहुन्छ भने अविश्वासको प्रस्ताव हाल्नेले पनि प्रस्ताव पास हुन्छ भनेर काङ्ग्रेसकै भरोसा गर्नुभएको छ,’ उनले भने, ‘तर हामी कसको पक्षमा लाग्छौँ, त्यो निश्चित भइसकेको छैन ।’

अनुचित बाटोबाट मुख्यमन्त्री बन्दिनँ : मुख्यमन्त्री

मुख्यमन्त्री शेरधन राईले आफू अनुचित बाटोबाट मुख्यमन्त्रीमा टिकिनरहने बताउँछन् । आफूले कसैलाई मन्त्री पदको अफर नगरेको उल्लेख गर्दै उनले त्यो अनावश्यक आरोप भएको बताए ।

‘म सङ्घीयता र संविधान कार्यान्यन गर्न आएको मान्छे हुँ, मुख्यमन्त्रीमा नाम लेखाउन आएको होइन्,’ उनले भने, ‘म त्यस्तो प्रकारको तरिकाबाट आएको पनि होइन । मेरो दिमागमा त्यस्तो काम कहिल्यै हुँदैनन् । माथिल्लो सरकारमा बसेको मान्छे । यो प्रदेशको पहिलो मुख्यमन्त्री भएर प्रदेशलाई संस्थागत गर्ने सङ्घीयतालाई कार्यान्यन गर्ने जिम्मेवारीसहित आएको हुनाले पद जोगाउन मबाट मन्त्री बाँड्ने, पैसा बाड्ने, लोभ देखाउने काम हुन सक्दैन ।’