Rumpum Advertisement

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्को दुर्घटनामा तीन जना घाइते

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्को दुर्घटनामा तीन जना घाइते

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा सोमबार साँझ ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको को २ त १२९० नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको को १५ प १४०७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर रतुवामाई–८ का २० वर्षीय ज्ञानेन्द्र भुसालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार मृतक भुसाल मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको थियो । अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि लगिएको केही बेरमै अस्पतालले भुसाललाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक रतुवामाई–८ का ३४ वर्षीय दिलबहादुर भुजेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको एसपी खड्काले बताए । शवलाई पोस्टमार्टमका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको छ ।

त्यस्तै उर्लाबारी–रतुवामाई सडक खण्ड अन्तर्गत मोरङकै रतुवामाई–६ मा मंगलबार बिहान तीन जना सवार मोटरसाइकल दुर्घटनामा परेको छ । बिहान ६ बजेतिर भएको दुर्घटनामा परेर एउटै परिवारका उनीहरु घाइते भएका छन् ।

उत्तरतर्फ गइरहेको को ८ प २३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुनवर्षी–५ का २६ वर्षीय अरुणकुमार ऋषिदेव, उनका बुवा ४५ वर्षीय बिजुलीया ऋषिदेव र भाइ २० वर्षीय किसन ऋषिदेव घाइते भएका हुन् । घाइतेमध्ये मोटरसाइकल चालक अरुणकुमारको अवस्था गम्भीर रहेको एसपी खड्काले बताए । उनको पेटबाट आन्द्रा बाहिर निस्किएको छ ।

बिजुलीया र किसनको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । रंगेली अस्पतालमा सम्भव नभएपछि घाइतेहरुलाई थप उपचारका लागि विराटनगर ल्याइएको छ । प्रहरीले क्षमताभन्दा बढी (तीन जना) सवार मोटरसाइकल घुम्ती सडकमा तीव्र गतिमा कुदाइएका कारण नियन्त्रण गुमाएर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ ।

मोटरसाइकल सडकबाट लगभग १५ मिटर परको बाँसको झ्याङ्भित्र पुगेको थियो । मोटरसाइकलमा सवार रहेकाहरु बाँस झ्याङ्भित्र अड्किएका थिए । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरीले टोलीले बाँस झ्याङ्मा अड्किएका घाइतेहरुलाई उद्धार गर्दै उपचारका लागि पठाएको थियो ।

घाइतेहरु झापास्थित भुटानी शरणार्थी शिविरमा काम गर्ने मजदुर भएको खुलेको छ । काम गर्नका लागि परिवारका तीनै जना एउटै मोटरसाइकलमा जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको पाइएको एसपी खड्काले बताए ।