birat ribon

नेकपा विभाजन : मुख्यमन्त्री पोखरेल र गुरुङ इन्चार्जबाट हटाइए, पौडेल र ज्ञवालीलाई जिम्मेवारी

Neuro
नेकपा विभाजन : मुख्यमन्त्री पोखरेल र गुरुङ इन्चार्जबाट हटाइए, पौडेल र ज्ञवालीलाई जिम्मेवारी

विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहले गण्डकी र लुम्बिनी प्रदेशमा इन्चार्जसहित पदाधिकारी हेरफेर गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकले ती दुई प्रदेशमा इन्चार्जसहित पदाधिकारी हेरफेर गरेको हो । बैठकले गण्डकी प्रदेश इन्चार्जमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, सहइन्चार्ज केन्द्रीय सदस्य तुलबहादुर गुरुङ र सचिव श्रीमाया थकालीलाई जिम्मेवारी दिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्ज स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई तोकेको छ ।

cura insider

विभाजनअघि गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल इन्चार्ज थिए । उनीहरू दुवै ओली समूहको नेकपामा खुलेका छन् । त्यस्तै, यसअघि गण्डकी प्रदेशको सहइन्चार्ज रहेका प्रदेशको आर्थिक मामिलामन्त्री किरण गुरुङ र सचिव गोविन्द नेपालीलाई पनि बैठकले जिम्मेवारीमुक्त गरेको छ । उनीहरू पनि ओली समूहतिरै लागेका छन् ।

पार्टी एकतापछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले दोहोरो जिम्मेवारीमा रहेका गुरुङ र पोखरेललाई इन्चार्जको जिम्मेवारीबाट हटाएर विधि र प्रक्रियाअनुसार जिम्मेवारी बाँडफाँड गर्नुपर्ने माग गर्दै आएका थिए । सोमबार नेपालकै अध्यक्षतामा बसेको बैठकले ती दुई प्रदेशमा जिम्मेवारी हेरफेर गरेको हो । प्रदेश १, २, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने प्रचण्ड–नेपाल समूहले तत्काल हेरफेर गरेको छैन ।

त्यस्तै, बैठकमा २३ माघसम्मका लागि घोषित प्रतिगमनविरोधी संघर्षका कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । पूर्वघोषित कार्यक्रमलाई विस्तारित गर्दै उपत्यकाकेन्द्रित केही नयाँ कार्यक्रम घोषणा हुन सक्ने भुसालले बताए ।

‘सबै साथीहरूको सुझाब संघर्षलाई केही प्रभावकारी बनाउनुपर्छ भन्ने छ, त्यसअनुसार केन्द्रीय संघर्ष कमिटीले उपत्यकाकेन्द्रित केही नयाँ कार्यक्रम पनि ल्याउन सक्नेछ,’ उनले भने । प्रचण्ड–नेपाल समूहले गत शनिबार आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । संघर्षलाई व्यवस्थित बनाउन प्रचण्ड–नेपाल समूहले नेताहरू योगेश भट्टराई, लीलामणि पोखरेल र रघुजी पन्त रहेको बेग्लाबेग्लै कमिटीसमेत बनाइसकेको छ ।

प्रचण्ड–माधव समूहको बैठकमा आठ एजेन्डा छलफलका लागि प्रस्तावित छन् । संघर्षका कार्यक्रम, ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभारलगायतका विषय छलफलका लागि प्रस्तावित भए पनि अर्को बैठक भने केही दिनपछि मात्रै बस्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon