Rumpum Advertisement

बार्सिलोनामा नयाँ स्ट्राइकरको खाँचो : कोइम्यान

बार्सिलोनामा नयाँ स्ट्राइकरको खाँचो : कोइम्यान

विराटनगर । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले नयाँ स्ट्राइकर अनुबन्ध गर्ने योजना बनाएका छन् । आइतबार राति ला लिगाअन्तर्गत हुएस्कासँगको खेलपछि बोल्दै कोइम्यानले क्लबमा नयाँ स्ट्राइकरको खाँचो रहेको बताए ।

गए राति बार्सिलोनाले हुएस्कामाथि १–० गोलको जित दर्ता गरेको थियो । हुएस्काको मैदानमा बार्सिलोनालाई जिताउन फ्रेन्की डी योङले निर्णायक गोल गरेका थिए । डी योङले कप्तान लियोनल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।

यसै खेलबाट टोलीमा फर्र्किएका मेस्सी मार्टिन ब्रेथवेट र ओस्मान डेम्बेले अग्रपङ्तिमा देखिएका थिए । यी तीन खेलाडीको १५ उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसकेको अवस्थामा डी योङले बार्सिलोनाको पक्षमा नतिजा दिलाइदिए ।

खेल सकिन नौ मिनेट बाँकी छँदा कोइम्यानले ब्रेथवेटको स्थानमा एन्टोइन ग्रिजम्यानलाई मैदान पठाएका थिए । तर, अग्रपङ्तिमा रहेका कसैले पनि गोल गर्न नसक्दा निराश बनेका कोइम्यानले बार्सिलोनालाई प्राकृतिक स्ट्राइकरको अभाव रहेको प्रतिक्रिया दिए ।

‘म हाम्रो टोलीका सबै खेलाडीलाई विश्वास गर्छु । तर, यदि हामीले तीन मिडफिल्डर छान्छौं भने अरु तीन फरवार्डहरू पनि रुपमा उपलब्ध हुनुपर्छ । मेस्सी र डेम्बेलेबीचमा रहेर खेल्ने स्ट्राइकरको खाँचो छ’, उनले भने ।