Rumpum Advertisement

प्रेस युनियन सुनसरीको अनुकरणीय काम

१६ पत्रकारलाई कोरोना बिमा रकम हस्तान्तरण

प्रेस युनियन सुनसरीको अनुकरणीय काम१६ पत्रकारलाई कोरोना बिमा रकम हस्तान्तरण

इटहरी / सुनसरीमा कोरोना प्रभावित ३१ मध्ये १६ पत्रकारले बिमाङ्कबापतको रकम पाएका छन् । सोमबार धरानमा आयोजित विशेष समारोहमा नौ पत्रकारलाई बिमाङ्क रकमको चेक हस्तान्तरण गरेसँगै कोरोना बिमा दाबी पूरा भएका पत्रकारको सङ्ख्या १६ पुगेको हो । यसअघि सात पत्रकारलाई कोरोना बिमाबापतको रकम हस्तान्तरण गरिएको थियो ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेठमा आइएमई जनरल इन्सुरेन्ससँगको सहकार्यमा दुई सय ६० पत्रकारको एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिदिएको थियो । जिल्लामा हालसम्म ३१ पत्रकार कोरोना प्रभावित भएका छन्, जसमध्ये १५ पत्रकारको बिमाङ्क दाबी पूरा हुने प्रक्रियामा रहेको छ ।

सोमबार बिमाबापतको रकम प्राप्त गर्नेमा अग्रज पत्रकार कृष्ण अधिकारीसहित सन्तोष काफ्ले, निर्मल कार्की, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सिना, शिशिर राई, सञ्जिता धमला र गोपाल कामत रहेका छन् । अग्रज पत्रकार हर्ष सुब्बा, गिरिराज आचार्य, पत्रकार महासङ्घका पूर्व अध्यक्ष राजेश विद्रोहीलगायतले बिमाङ्क रकमको चेक हस्तान्तरण गरेका थिए ।

यसअघि मङ्सिर २८ गते सुनसरी युनियनद्वारा इटहरीमा आयोजित कार्यक्रममा भोजराज श्रेष्ठ, महेश गुरागाई, रमेशकुमार राई, आशिष यादव, विजय पराजुली र केदार बस्नेत गरी ६ जना पत्रकारलाई कोरोना बिमाबापतको रकम हस्तान्तरण गरिएको थियो । पत्रकार चन्दन रौनियारको बिमा दाबी दसैँअघि भुक्तानी गरिएको थियो ।

सुनसरी युनियनका अध्यक्ष पवन अधिकारीले दसैँका बेला कोरोना प्रभावित २० पत्रकारलाई बिमा दाबी भुक्तानी भएपछि फिर्ता दिने सर्तमा १०–१० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । त्यसअघि उनले लकडाउन प्रभावित पत्रकारहरूलाई संस्थागत रूपमा मास्क, गुणस्तरीय स्यानिटाइजर उपलब्ध गराएका थिए । युनियनले पत्रकारलक्षित अलग्गै फुड-बैङ्क सञ्चालन गरेको थियो ।

सुनसरीका सबै पत्रकारको पाँच लाख बराबरको जीवन बिमामा लागि सहजीकरण गर्ने सुनसरी युनियनको योजना रहेको छ ।

यसैगरी, सुनसरी युनियनले मस्तिष्क पक्षघात भएर नोबेल मेडिकल कलेजमा उपचाररत सञ्चारकर्मी दिलिप रोनोहाङको परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । उनका लागि उपचारमा छुट गराउने तथा थप सहयोग जुटाउन पहल भइरहेको अध्यक्ष अधिकारीले बताए ।

प्रेस युनियन सुनसरीको सिफारिसमा नोबेल मेडिकलले उपचारमा ५० प्रतिशत छुट दिने सम्झौता गरेको छ, जसअन्तर्गत सुनसरीका एक दर्जनभन्दा बढी पत्रकार लाभान्वित भइसकेका छन् ।
धरानमा आयोजित बिमा रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सुनसरी युनियनका अध्यक्ष पवन अधिकारीले सुनसरीका सबै पत्रकारको पाँच लाख बराबरको जीवन बिमामा लागि युनियनका तर्फबाट सहजीकरण गर्ने योजना रहेको बताएका छन् ।

‘पत्रकार महासङ्घले बिमाका लागि सूचना विभागको प्रेस कार्ड खोज्दै गरोस्,’ उनले भने, ‘महासङ्घले जारी गरेको पत्रकार परिचय–पत्रका आधारमा सहज ढङ्गले जिल्लाका सबै पत्रकारहरूको पाँच लाखको बिमा गरिदिने तयारीमा अघि बढेका छौँ । त्यसका लागि आवश्यक प्रिमियम रकम जुटाउन युनियनले पहल गर्नेछ ।’

कार्यक्रममा बिमा व्यवस्थापन समिति संयोजक कृष्ण अधिकारी, पूर्वअध्यक्ष गणेश निरौला, अग्रज पत्रकार हर्ष सुब्बाले प्रेस युनियन सुनसरीले श्रमजीवी पत्रकारको हितमा गरिरहेको कामको प्रशंसा गरेका थिए ।

यसैबीच, शनिबार सेक्ष होटलमा भएको भेलाले मात्रिकाप्रसाद नेपालको अध्यक्षतामा प्रेस युनियनको धरानः नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः पारस राई, शान्ता निरौला दाहाल, सङ्गीता राई र बसन्त राई तथा सदस्यमा रोहित कुलुङ, सुविक्षा राई र सन्जिता धमला रहेका छन् । भेलाले निवर्तमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: