Rumpum Advertisement

दक्षिण कोरियामा गत वर्ष जन्मभन्दा बढी मृत्यु

Neuro
दक्षिण कोरियामा गत वर्ष जन्मभन्दा बढी मृत्यु

विराटनगर । सन् २०२० मा दक्षिण कोरियामा पहिलोपटक जन्मभन्दा बढी मृत्यु भएको छ । सन् २०२० मा दक्षिण कोरियामा तीन लाख सात हजार सात सय ६४ को मृत्यु भएको छ भने दुई लाख ७५ हजार आठ सय बच्चा जन्मिएका छन् ।

सन् २०२०को जन्मदर सन् २०१९ को तुलनामा १० प्रतिशत कम हो । दक्षिण कोरिया पहिलादेखि नै संसारको सबैभन्दा कम जन्मदर भएको देशमध्येको एक हो ।

जन्मभन्दा बढी मृत्यु भएको कारण घट्दो जनसङ्ख्याले देशको चिन्ता र दबाबलाई थप बढाइदिएको छ । एकातिर ज्येष्ठ नागरिकको सङ्ख्या बढेको कारण स्वास्थ्य सेवा र पेन्सनका लागि अत्यधिक राजस्व खर्च गर्नुपर्ने दबाब बढिरहेको छ भने अर्कातिर युवाको कमी हुँदै गएको कारण देशमा कामदारको कमी भइरहेको छ ।

यी दुवै कारणले देशको अर्थव्यवस्थामा प्रत्यक्ष असर पारिरहेको छ । हालको तथ्याङ्कले एकपटक पुनः दक्षिण कोरियालाई आफ्नो नीतिमाथि सोच्न बाध्य बनाएको छ । देशका गृहमन्त्रालयले पनि यसलाई मध्यनजर गर्दै नीति परिवर्तन गर्ने बताएका छन् ।

गत महिना राष्ट्रपति मून जेईले कम जन्मदरको समस्या सुल्झाउनका लागि थुप्रै नीतिहरूको सुरुआतसमेत गरेका छन् । योजनाअनुसार सन् २०२२ मा जन्मिएको हरेक बच्चाको परिवारलाई आर्थिक तरिकाले २० लाख वन (दुई लाख १६ हजार नेपाली रुपैयाँ) सहयोग दिइनेछ ।

यसका साथै बच्चा एक वर्ष नपुगुन्जेलसम्म प्रतिमहिना तीन लाख वान (३२ हजार रुपैयाँ) दिइनेछ । सन् २०२५ मा यो रकम बढाएर पाँच लाख वान (५४ हजार रुपैयाँ) गरिनेछ । दक्षिण कोरियामा घट्दो जनसङ्ख्याको कारण धेरैजसो महिला, काम र जीवनका अन्य आवश्यकताबीच सन्तुलन बनाउन जुधिरहेका छन् ।

साथै, रियल स्टेटको बढ्दो मूल्यका कारण पनि युवाहरू परिवार बसाउनका लागि हतोत्साहित हुन्छन् । बालबालिकालाई हुर्काउन एक खर्चिलो काम रहेको र सरकारको तर्फबाट केही आर्थिक सहयोगले यो समस्या नसुल्झिनने हुँदा दक्षिण कोरियामा जनसङ्ख्या घटिरहेको बताइएको छ ।