Rumpum Advertisement

साप्ताहिक हाट खुला गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

Neuro
साप्ताहिक हाट खुला गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर / कोरोना महामारीका कारण बन्द भएको साप्ताहिक हाटबजार खुलाउन माग गर्दै व्यापारीले विराटनगरमा प्रदर्शन गरेका छन् ।

विराटनगरको सडकहरुमा वर्षाैयता साप्ताहिक हाटबजार लाग्दै आएको छ । कोरोना महामारी नियन्त्रणका लागि चैत पहिलोसाता लकडाउन आह्वान भएपछि सडकमा लाग्ने हाटबजार बन्द भएको थियो । तर जनजीवन सामान्य भएपछि पनि विराटनगर महानगरपालिकाले बजार खुला गर्न नदिएपछि व्यापारीले सोमबार प्रदर्शन गरेका हुन् ।

सडकमा बजार लगाउन पाउनुपर्छ भन्दै व्यापारीले विराटनगर महानगरपालिकाको कार्यालयमा केही समय धर्ना दिएका थिए । ठूला मार्केट खुला भएको बताउँदै साना व्यापारीले तत्काल बजार खुला गर्न माग गरे ।

कोरोना महामारीका कारण बन्द भएका साप्ताहिक हाटबजार सञ्चालनमा महानगरले अनुमति
नदिएका कारण आन्दोलनमा उत्रिएको व्यापारी महम्मद गुड्डुले बताए । मानिसको दैनिकी सामान्य भएको अवस्थामा साप्ताहिक बजार पनि खुला हुनुपर्ने उनको भनाई छ ।

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले छलफलपछि महानगरपालिकाले थप निर्णय गर्ने बताइन् । आन्दोलनमा उत्रिएका व्यापारीलाई महानगरपालिकाले मंगलबार छलफलमा बोलाएको छ ।