Rumpum Advertisement

नेपालीले नोबेल जितेको हेर्ने शताब्दी पुरुषको ‘अन्तिम इच्छा’ !

Neuro
नेपालीले नोबेल जितेको हेर्ने शताब्दी पुरुषको ‘अन्तिम इच्छा’ !

विराटनगर / शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीले कोही नेपालीले साहित्यमा विश्व–प्रतिष्ठित नोबेल पुरस्कार थापेको दृश्य हेर्ने आफ्नो ‘अन्तिम इच्छा’ रहेको बताएका छन् ।

२०७७ वैशाख ३० गते एक सय एक वर्ष पुगेका जोशीले गैरआवासीय नेपाली सङ्घद्वारा साप्ताहिक रूपमा सञ्चालित ‘प्रवासी प्रवाह’ कार्यक्रमको आइतबार प्रशारित शृङ्खलामा त्यस्तो इच्छा व्यक्त गरेका हुन् ।

जुम–प्रविधिमार्फत विश्वव्यापी प्रत्यक्षीकरण गरिएको सो कार्यक्रममा सहजकर्ता गौतम दाहालले, ‘जीवनको उत्तरार्धमा मैले यस्तो गर्न बाँकी छ भन्ने खालको केही’ बताइदिन आग्रह गर्दा जोशीले यो उमेरमा नयाँ काम गर्ने आफ्नो इच्छा नरहेको तर नेपालीले नोबेल पुरस्कार पाएको हेर्ने अभिलाषा भने बाँकी रहेको बताए ।

मेरो जीवन जुरेली चरीजस्तो छ । राम्रो कुरा सबैलाई बाँड्ने । दुःख–पिर, हुरी–झरी पर्दा नआत्तिने, स्थिर रहने !

शताब्दी पुरुष, सत्यमोहन जोशी

‘अब मभित्र कुनै पद वा पदक प्राप्तिको लोभ बाँकी छैन,’ शताब्दी पुरुष जोशीले भने, ‘देश वा विदेशमा जहाँसुकै बस्ने भए पनि नेपाली मूलको कुनै सन्तानले नेपाली माटो र संस्कृतिको वासना आउने साहित्यिक कृति सिर्जना गरेको र त्यस्तो कृतिले नोबेल पुरस्कार पाएको सुन्ने–हेर्ने चाहना छ ।’

सय बर्से अनुभव बाँड्ने क्रममा जोशीले आफूले एक दशक अघिदेखि कुनै नेपालीले नोबेल पुरस्कार जितेको हेर्ने इच्छा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आए पनि हालसम्म त्यस्तो इच्छा पूरा हुन नसकेको बताएका थिए ।

‘बाँकी कुराहरूमा कुनै चिन्ता छैन । आनन्दले बाँचिरहेको छु,’ जुरेली दर्शनका व्याख्याता जोशीले भने, ‘मेरो जीवन जुरेली चरीजस्तो छ । राम्रो कुरा सबैलाई बाँड्ने । दुःख–पिर, हुरी–झरी पर्दा नआत्तिने, स्थिर रहने !’

दीर्घ जीवनको रहस्यबारे बोल्दै जोशीले आफूले अलि ठुलो हुञ्जेलसम्म आमाको दूध खाने अवसर पाएकाले पनि लामो समयसम्म बाँचेको बताएका थिए । त्यसबाहेक आइलाग्ने समस्याप्रति चिन्ता नगर्ने बरु जीवनसम्बन्धी चिन्तन गर्ने आफ्नो स्वभाव रहेको चर्चा गरेका थिए । ‘म अङ्ग्रेजी कवि जोन किट्सजस्तै जुरेली चरीको व्यवहारबाट प्रभावित व्यक्ति हुँ,’ उनले भने, ‘म चिन्ता गर्दिनँ । आँधी–हुरी आएको भोलिपल्ट पनि जुरेली चरीजस्तै हाँसीखुसी रहन्छु ।’

संस्कृतिविद एवम् जीवित सम्पदा जोशीले हरेक घटना विवरण तिथिमितिसहित जोसिलो, बोलीचालीको शैलीमा बताएका थिए ।

गैरआवासीय नेपाली सङ्घमातहतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिले वर्ष २०२१ को पहिलो विशेष शृङ्खलाका रूपमा शताब्दी पुरुष जोशीलाई प्रस्तुत गरेको थियो । संस्कृतिविद एवम् जीवित सम्पदा जोशीले हरेक घटना विवरण तिथिमितिसहित जोसिलो, बोलीचालीको शैलीमा बताएका थिए ।

मदन पुरस्कारमा ह्याट्रिक गर्ने (तीन पटक) जोशी मदन पुरस्कार पाउने पहिलो साहित्यकार पनि हुन् । २०१३ सालमा उनको नेपाली लोकगीत एक अध्ययन (हाम्रो लोक–संस्कृति) कृतिले पहिलो मदन पुरस्कार प्राप्त गरेको थियो । उनले नेपाली राष्ट्रिय मुद्रासम्बन्धी अनुसन्धानात्मक कृति तथा कर्णालीको लोक–संस्कृतिसम्बन्धी कृतिका लागि पनि मदन पुरस्कार पाएका छन् ।

अन्तरक्रियाका क्रममा जोशीले १३ औँ शताब्दीमा चीन गएका नेपाली कलाकार अरनिकोलाई पहिलो गैरआवासीय नेपाली मान्न सकिने बताए । २०१६ सालमा चीन पुगेका जोशीले त्यहाँ अरनिकोले गरेको योगदानबारे विशेष अध्ययन गरेका थिए ।

प्रवासी प्रवाहको ३१ औँ शृङ्खला नयाँ वर्ष २०२१ विशेष

आइतबार बेलुका आठ बजे सुरु भएको निर्धारित एक घण्टाको कार्यक्रम दुई घण्टासम्म लम्ब्याउँदा पनि जोशीका सुनिरहुँ लाग्ने प्रसङ्गहरू सकिएका थिएनन् । फेसबुक लाइभमा जोडिएका सयभन्दा बढी दर्शक अन्तिम बेलासम्म सँगै थिए । कार्यक्रम अवधिभर जोशी जोसिलो बोली र हाउभाउसहित प्रस्तुत भइरहे ।

आइतबारको शृङ्खलामा सङ्घका अध्यक्ष कुमार पन्त र संस्थापक जीवा लामिछाने, भाषा, साहित्य, संस्कृति एवम् सम्पदा प्रवर्धन समितिका अध्यक्ष हिक्मत थापा, प्रवासी प्रवाह’की सञ्चालिका भगवती बस्नेतले जोशीको दीर्घायुको कामनासहित आभार व्यक्त गरेका थिए । उनीहरूले जोशीले देखेको सपना पूरा गर्न अर्थात् कुनै नेपालीले साहित्यमा नोबेल पुरस्कार पाउन सक्ने वातावरण सिर्जनााका लागि गैरआवासीय नेपाली सङ्घले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

https://www.facebook.com/113289480362194/videos/477722673197124