Rumpum Advertisement

एथ्लेटिकोमा स्वारेजको कीर्तिमान

एथ्लेटिकोमा स्वारेजको कीर्तिमान

विराटनगर । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा नयाँ कीर्तिमान बनाएका छन् । आइतबार राति अल्भेसमाथि २–१ गोलको जित निकाल्दा निर्णायक गोल गरेका स्वारेजले एथ्लेटिकोका पूर्वखेलाडी राडामेल फाल्काओको कीर्तिमान तोडेका हुन् ।

आइतबार राति अल्भेसको मैदानमा एथ्लेटिकोले सुरुआती अग्रता बनाएको थियो । ४१औं मिनेटमा मार्कोस लोरेन्टले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए । ८४औं मिनेटमा एथ्लेटिकोका फिलिपेले आत्मघाती गोल गरेपछि अल्भेस बराबरीमा फर्किएको थियो ।

तर, ९०औं मिनेटमा स्वारेजले गोल गरेपछि एथ्लेटिको २–१ गोलले विजयी भयो । यस गोलसँगै स्वारेज एथ्लेटिकोका लागि सुरुआती १२ खेलमा ९ गोल र २ असिस्ट गर्ने पहिलो खेलाडी बने ।

यसअघि फाल्कोओले सन् २०११ मा डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरेका थिए । पोर्टोबाट एथ्लेटिकोमा अनुबन्ध भएका कोलम्बियन स्ट्राइकरले सो सिजनमा ११ खेलबाट ९ गोल र एक असिस्ट गर्दै एथ्लेटिकोका लागि सुरुआतमै उत्कृष्ट प्रदर्शन गर्ने कीर्तिमान बनाएका थिए ।

सोही कीर्तिमान स्वारेजले तोडेका हुन् । यसै समरमा बार्सिलोनाबाट निराश हुँदै एथ्लेटिकोमा अनुबन्ध भएका स्वारेजले ला लिगाको डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बार्सिलोनामा रोनाल्ड कोइम्यान प्रशिक्षकका रूपमा आएसँगै स्वारेज बाहिरिन बाध्य भएका थिए । उनी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् ।