
(हाडजोर्नी विशेषज्ञ)
अन्य समयमा भन्दा जाडो मौसममा हाडजोर्नीको समस्या बढी देखिने हुन्छ । वृद्धवृद्धालाई मात्रै नभई युवाहरूमा समेत हाडजोर्नीको समस्या देखापर्न थालिसकेको छ । जाडो मौसमलाई हाडजोर्नीको समस्या भएका बिरामीले कष्टकर समयका रूपमा समेत लिने गर्छन् । जोर्नी दुख्ने विभिन्न कारण हुन सक्छन् । तर, जाडोमा चिसोका कारण जोर्नीको संचालनमा बाधा पुग्ने हुँदा अन्य समयभन्दा हाडजोर्नीसम्बन्धी समस्याले धेरै सताउन सक्छ ।
जाडोको समयमा अन्य मौसमको तुलनामा हाडजोर्नीको बिरामी बढ्छन् । अस्पतालमा आउने हाडजोर्नीको बिरामीको सङ्ख्या बढिरहेको छ । कोसी अस्पतालमा दैनिक एक सय ३० जनासम्म बिरामी हाडजोर्नीको समस्या लिएर आउने गरेका छन् ।
अन्य मौसममा पनि हाडजोर्नी तथा बाथका रोगी नहुने होइन । तर, हाडजोर्नी तथा बाथका समस्या चिसो बढेसँगै बढ्ने हुन्छ । अन्य मौसममा दुखाइ कममात्र हुने हुन्छ भने हरेक पटक मौसम परिवर्तन भएसँगै हाडजोर्नीको समस्या र दुखाइ पनि बढ्दै जान्छ । हाडजोर्नीको समस्या भएकामा सुरुवाती अवस्थामा सामान्य जोर्नीको दुखाइ हुने गर्छ ।
जोर्नी सुन्निने, हिँड्न गाह्रो हुने, बिहानको समयमा हातखुट्टा तथा शरीर कक्रिने जस्ता लक्षण पनि देखापर्न सक्छ । जाडोमा धेरैजसो बाथको समस्या देखापर्ने हुन्छ । तर, जाडोमा देखापर्ने सबैजसो हाडजोर्नीको समस्या बाथका कारणले मात्र हुन्छ भन्ने पनि हुँदैन । विशेषगरी बिहानको समयमा हातखुट्टा कक्रक्क पर्ने, शरीर कस्सिने, जोर्नीहरू कस्सिने, जोर्नीहरू फुलेको जस्तो हुने, हाडजार्नी दुख्ने, हिँड्न गाह्रो हुने समस्या भएमा बाथ रोग हुने सम्भावना उच्च हुन्छ । जोर्नी तथा बाथका समस्या जोकोहीलाई पनि हुनसक्छ तर, जोर्नी तथा बाथका समस्या तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी हुने गरेको पाइन्छ ।
दैनिक र नियमित व्यायाम गर्नुपर्छ । चिसोबाट जोगिएर नियमित व्यायाममा ध्यान दिनुका साथै खानपानमा सावधानी अपनाए समस्याको रोकथाम गर्न सकिन्छ । जाडोमा विशेषगरी युरिक एसिड र बाथका बिरामीले समस्या हुन नदिन खानपानमा पनि ध्यान दिन जरुरी छ ।
महिलामा पनि ४० वर्ष कटेपछि यो समस्या अधिक रुपमा देखापर्ने हुन्छ । महिनावारी रोकिने बेलामा एस्ट्रोजन हर्मनको मात्रा घट्छ । जसकारण प्रत्यक्ष असर हड्डी तथा जोर्नीमा पर्छ । विशेषगरी वृद्ध, गर्भवती तथा पहिलादेखि अन्य रोग भएकालाई जाडोमा जोर्नीको दुखाइले निकै सताउन सक्छ । उपचारका लागि अस्पताल आएका बिरामीमा सबैभन्दा पहिला के–कस्तो समस्या छ भनेर सोधिन्छ ।
शरीरको कुन भागमा दुखाइ भएको, के गर्दा अत्यधिक दुख्ने भनेर सबै बुझेर जाँच गरिन्छ । त्यसपछि रगत र अन्य विशेष जाँच गरेपछि मात्र कुन प्रकारको बाथ हो वा के कारणले हाडजोर्नीको समस्या भएको थाहा पाएपछि कस्तो औषधि चलाउने भन्ने स्पष्ट हुन्छ । सुरुवाती समयमा उपचारका लागि औषधिको प्रयोग गरिन्छ । त्यसबाट भएन भने रोगको प्रकृति हेरेर अन्य उपचार गर्नुपर्ने हुन्छ ।
हाडजोर्नीसम्बन्धी समस्या छ भने पनि जटिल अवस्थामा पुग्न दिनु हुँदैन । जटिल हुँदै गएपछि औषधिले पनि काम गर्दैन । अन्तिम स्टेजमा पुगेपछि अप्रेसनको आवश्यकता पर्ने हुन्छ । अरू समयभन्दा बढी जाडो मौसममा ख्याल गर्नुपर्छ । जाडो समयमा बाथको समस्याबाट बाच्नका लागि चिसोबाट बच्ने तथा जाडोमा न्यानो भएर बस्नु नै सबैभन्दा महत्त्वपूर्ण उपाय हो ।
न्यानोपनले जोर्नीलाई सही तरिकाले सञ्चालन हुन सहयोग गर्छ । त्यसैले, हाडजोर्नी समस्या हुन नदिन सक्रिय जीवन अपनाउन आवश्यक छ ।
दैनिक र नियमित व्यायाम गर्नुपर्छ । चिसोबाट जोगिएर नियमित व्यायाममा ध्यान दिनुका साथै खानपानमा सावधानी अपनाए समस्याको रोकथाम गर्न सकिन्छ । जाडोमा विशेषगरी युरिक एसिड र बाथका बिरामीले समस्या हुन नदिन खानपानमा पनि ध्यान दिन जरुरी छ ।
अन्य खानापानले असर गर्ने हाडजोर्नीका समस्या खासै छैन तर, युरिक एसिडलाई खानपानले प्रत्यक्ष असर गर्छ । खानपान ध्यान नदिएको खण्डमा युरिक एसिड बढ्न सक्छ ।
जसले हाडजोर्नीको समस्यालाई बढावा दिने गर्छ । शरीरमा युरिक एसिडलाई नियन्त्रण गर्न तथा युरिक एसिड भएका मानिसले गेडागुडी, रातो मासु, अमिलो तथा पुरानो अचारको सेवन कम गर्न जरुरी हुन्छ ।
हाडजोर्नीलाई बलियो बनाउने पौष्टिक खानपानमा जोड दिनुपर्छ । जोर्नी खिइएका तथा हाडजोर्नीको समस्या भएकाले टुक्रुक्क नबस्ने, पलेँटी कसेर नबस्ने तथा सिँढीमा तलमाथि कम गर्ने गर्नुपर्छ । मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नोक्सान पुग्न सक्ने हुँदा मदिरा र धुम्रपान सेवन नगर्नु नै उचित हुन्छ । हाडजोर्नीका कुनै पनि समस्या आएमा लापरवाही नगरी समयमै डाक्टरलाई देखाई उपचार गर्नु आवश्यक हुन्छ ।
(विराटनगरस्तिथ कोसी अस्पतालमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. खरेलसँग कोसी अनलाइनका लागि अङ्किता ताम्राकारले गरेको कुराकानीमा आधारित ।)