Rumpum Advertisement

बकलोलवा–बकलोलवीको हुले–हुले !

Neuro
बकलोलवा–बकलोलवीको हुले–हुले !

कन्टिर–बाबू अहिलेको राजनीतिक अवस्थाप्रति कति पनि सन्तुष्ट छैनन् ।

अरे यार … ! यस्तो पनि हुन्छ, जे देखिएको हो, जो स्पष्ट र सत्य छ, राजनीति गर्छु भन्नेले त्यो त स्वीकार गर्नुपर्यो नि ! तर यी त बकलोलवा–बकलोलवी पो रहेछन् । अरूले जे भन्यो त्यसैमा हुले–हुले गर्ने ।

कन्टिर–बाबूलाई यस्तोमा गोनु झाको अभाव खड्किएको छ ।

गोनु–बाबूको सुझबुझका अनेक कथा प्रचलित छन् । उनलाई जस्तै समस्याले पनि अलमलाउन सक्दैनथ्यो । उनी सबै समस्या, आफतहरू चुटकी बजाएर समाधान गरिदिन्थे ।

मैथिली भाषा–साहित्यका विद्वान परमेश्वर कापडीको भनाइसँग कन्टिर–बाबू सहमत छन् । कापडीका अनुसार गोनु–बाबू अनाचारको प्रतिकार गर्थे । जस्तै हठधर्मी, अधर्मी, दुराचारीलाई उनी आफ्नो बुद्धि–कौशलका माध्यमबाट पाठ पढाएर छक्का छोडाउँथे ।

कन्टिर–बाबू विस्मात गर्छन्, ‘हाय रे गोनु–बाबू ! अचेल तपाईँका कुरालाई मानिस खाली हँसीमजाकमा उडाउँछन्, तपाईँका व्यवहारलाई हास्य–व्यङ्ग्य कथा मानेर हाँस्छन् । ती कथामा भएका सन्देशलाई आजका मानिसले आत्मसात गर्दैनन् ।’

कन्टिर–बाबू भन्छन्, ‘आज यस देशमा गोनु बाबूको आवश्यकताको बोध भएको छ । गोनु–बाबू आज भएको भए यी राजनीति गर्ने बकलोलवा–बकलोलवीको जिम्मामा देशलाई छोड्ने थिएनन् । पक्कै पनि कुनै युक्ति लगाउँथे र देशलाई पुनः लोकतन्त्रको ट्र्याकमा ल्याउँथे ।

नेपालको राजनीतिमा मैँ हुँ भन्ने तर जनतालाई समाधान दिन नसक्ने बकलोलहरूले गोनु झाका एक–दुईवटा कथा पढिदिए कन्टिर–बाबूलाई थोरै भए पनि राहत अनुभव हुने थियो ।