Rumpum Advertisement

महिनावारी रोकिएपछि महिलालाई विभिन्न समस्या हुन सक्ने

Neuro
महिनावारी रोकिएपछि महिलालाई विभिन्न समस्या हुन सक्ने

विराटनगर/महिनावारी रोकिएपछि धेरै महिलालाई विभिन्न प्रकारको समस्याले सताउने गरेको पाइन्छ ।

खानपान र जीवनशैलीमा ध्यान नदिँदा महिनावारी रोकिएपछि हड्डी खिइने, हड्डी कमजोर हुने, डिप्रेसन लगायतका समस्याले सताउने गरेको चिकित्सकहरू बताउँछन् । महिनावारी सुकेका वा रजनोवृत्ति भएका कतिपय महिलामा एस्ट्रोजन हर्मोनको कमीले हाडजोर्नी खिइने, ओस्टियोपोरोसिस अर्थात् हड्डी कमजोर हुने र सामान्य दुर्घटनामै हड्डी भाँच्चिने समस्या हुन सक्छ ।

हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकाशमान श्रेष्ठका अनुसार महिनावारी रोकिएपछि हुने समस्याको समाधान गर्नुभन्दा पनि त्यसको रोकथामका लागि समयदेखि नै खानपान र व्यायाममा ध्यान दिनुपर्ने हुन्छ । साथै, बिहानको घाममा २० मिनेट जति बस्नुपर्ने उनको सुझाब छ । महिनावारी रोकिन लाग्दा वा रोकिएपछि जिउमा बल नभएजस्तो हुने, थकाइ लाग्ने, चिसो पसिना आउने, राती निद्रा नपर्ने, छिट्टै रिस उठ्ने, भोक कम लाग्नेलगायतका समस्या देखापर्न सक्छ ।

त्यस्तै, स्त्रीरोग विशेषज्ञ डा. रीना श्रेष्ठका अनुसार महिनावारी रोकिएपछिका समस्याबारे पहिले नै जानकार नहुँदा ठूलै रोग लागेको महसुस गरी धेरै महिलाहरू डिप्रेसनमा समेत जान सक्छन् । महिनावारी सुकेपछि के–कस्ता लक्षण देखिन्छन् वा देखिएका लक्षण महिनावारी रोकिने बेलाका हुन् भन्ने कुरा महिलालाई सुरुमै थाहा हुनु पर्छ ।

नेपाली महिलाहरूको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष रहेको बताइएको छ । तर, जीवनस्तरमा सुधार ल्याउन सकिने महिनावारी रोकिने उमेर बढ्दै जाने हुन सक्छ । महिनावारी बन्द भएपछि हुने महिलाको स्वास्थ्य अवस्थाबारे नेपालमा हालसम्म कुनै औपचारिक अध्ययन अनुसन्धानसमेत भएको छैन । सरकारी तहबाटै यस विषयमा जनचेतनामूलक कार्यक्रम आयोजना हुन सके महिलाहरूको जीवन सहज बन्न सक्ने चिकित्सकहरूको भनाइ छ ।