Rumpum Advertisement

गर्भपतन गराउँदा खुल्यो छोरी बलात्कारको रहस्य, अस्पतालबाटै बुबा पक्राउ

गर्भपतन गराउँदा खुल्यो छोरी बलात्कारको रहस्य, अस्पतालबाटै बुबा पक्राउ

विराटनगर/छोरी बलात्कारको आरोपमा सुनसरी प्रहरीले बुबालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषमाथि आफ्नै १३ वर्षीय छोरीमाथि पटक–पटक जवरजस्ती करणी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार करिब पाँच महिनाको गर्भपतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो ।

बलात्कारको गर्भ रहेपछि पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए । तर किशोरीको अवस्था जटिल भएपछि नोबेल मेडिकल कलेज विराटनगर ल्याइएको थियो । कलेजमा सोधीखोजी गर्दा बुबाले नै करणी गरेको खुलेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

‘सानी बच्चीलाई गर्भपतनका लागि नोबेल अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो,’ थापाले भने, ‘बुबालाई मोरङ प्रहरीले पक्राउ गरी हामीलाई बुझाएको हो ।’

प्रहरीले ती पुरुषलाई शुक्रबार अस्पतालबाट पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । ‘गर्भपतन गरेको बच्चाको डिएनए जाँचका लागि पठाएका छौँ,’ उनले भने, ‘आरोपी पुरुष प्रहरी हिरासतमा छन् ।’

बराहक्षेत्र नगरपालिका–९ का वडा अध्यक्ष दीपककुमार लिम्बूका उपचारका लागि विराटनगर ल्याएपछि घटना बाहिर आएको हो ।

पक्राउ परेका पुरुषले पहिलो श्रीमतीले आत्महत्या गरेपछि केही वर्षअघि दोस्रो विवाह गरेको उनले बताए । ‘पक्राउ परेका पुरुषले घटनामा संलग्नता स्वीकार गरिसकेका छन् भन्ने जानकारी छ,’ उनले भने, ‘कानुनअनुसार कारवाही हुनुपर्छ ।’