birat ribon

गाउँ–गाउँबाट फेरि उठौँ !

निराशाको चिहानमाथि उभिएर फुकौँ क्रान्तिको बिगुल !

Neuro
गाउँ–गाउँबाट फेरि उठौँ !निराशाको चिहानमाथि उभिएर फुकौँ क्रान्तिको बिगुल !

विष्णुप्रसाद

विराटनगर / ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ,’ मुलुकको यथास्थिति परिवर्तन र राजनीतिक जागरणका लागि सम्भवतः सबैभन्दा बढी प्रयोग भएको यो गीतले भने जस्तो जनता उठेर आज मुलुक कुन उचाइमा पुगेको छ ? यसमा गम्भीर बहस र विश्लेषण हुनुपर्ने देखिएको छ ।

cura insider

श्याम तमोटको शब्द तथा रामेश श्रेष्ठको सङ्गीतमा रामेश र रायनको प्रारम्भिक स्वर रहेको यो गीत सङ्कल्प परिवारले २०३४ सालमा पहिलोपल्ट सार्वजनिक गरेको थियो । त्यसयताको ४२ वर्षमा यो गीत नसुन्ने र स्वर नखाप्ने नेपाली कमै होलान् । तर जनजागरणका लागि प्रयोग गरिएको यो लोकप्रिय गीतको मर्म चाहिँ कतिको मनमा बसेको छ र त्यसअनुसार व्यवहार परिवर्तन भएको छ ? यस अवधिमा जनता साँच्चै उठे वा उठेको अभिनयमात्र प्रदर्शित भयो ? यस्तै जिज्ञासाको सेरोफेरोमा चर्चा गर्दा हिजो यही गीत गाउँदै, रमाउँदै क्रान्तिको विगुल फुक्नेहरूको मन आज निराशा नै निराशाले भरिएको पाइयो ।

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ गीतको सेरोफेरोमा रहेर केही टाठाबाठा, मुठ्ठीभरकाले यसको फल, पद, प्रतिष्ठा, मान, पदवी, सम्पत्ति, विलासिता, सलामी सबैथोक पाए । तर जनता हेरेको–हेर्‍यै भए ।

गीतमा ‘हातमा कलम हुनेहरू कलम लिएर उठ, हातमा औजार हुनेहरू औजार लिएर उठ, साथमा केही नहुनेहरू आवाज लिएर उठ,’ भनिएको छ । तर यो पृष्ठभूमिमा कति उठे गाउँ–गाउँबाट ? जनताको स्वाभिमान उठेर कति चुलियो ? देशको मुहार कति फेरियो ? भन्ने जिज्ञासा राख्दा संकल्प परिवारकी संयोजक, कवयित्री कुन्ता शर्मा भन्छिन्, ‘यो गीत सुनेर जनता दुई पटक उठे, परिवर्तन पनि भयो तर शाब्दिक रूपमा र दृश्यमा मात्र परिवर्तन देखियो । तात्विक रूपले परिवर्तनको अनुभूति भएको छैन ।’

‘यही गीतको सेरोफेरोमा रहेर केही टाठाबाठा, मुठ्ठीभरकाले यसको फल, पद, प्रतिष्ठा, मान, पदवी, सम्पत्ति, विलासिता, सलामी सबैथोक पाए,’ शर्माले भनिन्, ‘जनता हेरेको–हेर्‍यै भए ।’

राजनीतिक विश्लेषक डम्बर खतिवडा अत्यन्त कालजयी, प्रभावशाली र साझा गीत मान्छन् यो गीतलाई । जगजागरणका लागि जसले पनि प्रयोग गर्न मिल्ने यो गीत हिजो कम्युनिस्टहरूले पञ्चायतविरोधी अभियानका लागि सबैभन्दा धेरै प्रयोग गरेका थिए ।

‘हिजो गाउँदा पञ्चायतविरोधी देखिएको यो गीत आज गाउने हो भने कम्युनिस्टविरोधी देखिनेछ,’ आफ्नो युवा उमेर कम्युनिस्ट राजनीतिका लागि खर्चेका खतिवडा भन्छन्, ‘जनचेतना निरन्तर जागरणका लागि यो गीत अझै गाइनुपर्छ ।’

‘सामाजिक परिवर्तन कुनै एक छिमलमा हुने वा सकिने कुरा होइन, यसका लागि लामो समय लाग्छ । जनचेतना नउठेको होइन, उठेको छ । तर हिजो उठेको चेतना आज काम लाग्दैन, आज उठेको चेतना भोलि काम लाग्दैन । त्यसैले समयअनुसार जनचेतना उठ्नुपर्छ । त्यसैले समयअनुकूल भएर जनता साँच्चिकै उठ्नेछन् भन्नेमा मलाई विश्वास छ,’ उनले भने ।

कथाकार किशोर पहाडीलाई जनता उठ्न त उठेको तर उठेर पनि यो गीतको भित्री मर्म नबुझेको जस्तो लाग्छ । ‘हिजो के–के न परिवर्तन होला भन्ने थियो । ज्यान दिएर दुई–दुईवटा जनआन्दोलनमा लागियो । तर आज धोकाजस्तै भयो,’ पहाडीले भने, ‘जे हुनुपथ्र्यो त्यो भएन, जसका कारण हिजोको राजनीतिक फोहोर, दुस्चरित्र र यथास्थिति आज पनि जस्ताको त्यस्तै छ । र यस विषयमा जनता कुरा बुझेर उठ्न बाँकी छ । उठ्छन् होला ।’

कालजयी यो गीत २०४५ सालमा ‘बलिदान’ सिनेमामा पनि राखिएको थियो । गीतको सो सिनेमेटिक भर्सन २०४६ सालको जनआन्दोलनका बेला मुख्य हतियारकै रूपमा प्रयोग गरिएको थियो । त्यसै सिनेमाका एक नायक लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ हिजो पर्दामा आफूले गाउँदै अभिनय गरेको दिन र आज जनताले व्यहोर्नु परिरहेको अवस्था तुलना गर्दा क्षुब्ध हुन्छन् । भन्छन्, ‘हिजो लोकतन्त्रका लागि हामीले यो गीत गायौँ । नभन्दै लोकतन्त्र प्राप्त पनि भयो । तर मुलुकको मुहार जनताले अपेक्षा गरेअनुसार फेरिएको छैन । मूल रूपमा नेतृत्वको चरित्र फेरिएको छैन, जसले गर्दा जनतामा निराशा बढ्दै गएको छ ।’

पहिलेभन्दा मुलुकको अवस्था केही विकसित भए पनि भ्रष्टाचार निकै नै बढेकाले जनताको मनमा नेतृत्वप्रति भुसको आगोजस्तै असन्तुष्टि फैलिरहेको उल्लेख गर्दै कलाकार श्रेष्ठले भने, ‘व्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनता फेरि उठ्ने बेला आएको छ ।’

स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालका अनुसार यो गीत गाउन लगाउनेहरूले दुनियाँलाई देखाउनका लागि मात्र प्रयोग गरे, यथार्थमा जनतालाई कहिल्यै उठ्न दिएनन् । बरु उठ्न खोजेका जनताको टाउको टेकेर आफू चुलिए ।

‘त्यसो त यो गीत धेरैजसो पार्टी कार्यकर्ताले नै गाए र उनीहरू नेताले जे भन्यो त्यसलाई आँखा चिम्लेर मान्नु नै आफू उठ्ने बाटो हो भन्ने मान्यतामा हुर्किए,’ अधिवक्ता नेपाल भन्छन्, ‘तर अहिले यो गीतको भित्री मर्म बुझेर, कार्यकर्ताको निद्रा त्यागेर, उठ्नुपर्ने आवश्यकता चुलिएको छ ।’

अनपेक्षित दृश्य देख्नुपर्दा जनताको मन रोएको छ । तर रोएर यथास्थिति परिवर्तन हुनेवाला छैन । अपेक्षित परिवर्तनका लागि जनता फेरि बस्ती–बस्तीबाट उठ्नुपरेको छ ।

लोकतान्त्रिक शासन–प्रणालीको दुरूपयोग गर्दै सत्तामा पुगेका हत्यारा, बलात्कारी र भ्रष्टाचारीलाई तह लगाउन जनता उठ्नु अपरिहार्य भइसकेको छ । ‘जबसम्म निर्वाचन प्रणालीमा राइट टु रिजेक्ट अर्थात् मन नपरेको उम्मेदवार अस्वीकार गर्न र राइट टु रिकल अर्थात् जितेपछि भनेअनुसारको काम गर्नेलाई फिर्ता बोलाउन पाउने अधिकारका लागि राज्यलाई दबाब दिन जनता सडकमा आउँदैनन्,’ नेपालले भने, ‘तबसम्म जनता सही अर्थमा उठेको मान्न सकिन्न ।’

यही सन्दर्भमा झलनाथ खनालले लेखेको, जेबि टुहुरेले गाएको एउटा अर्को गीतको स्मरण समीचिन छ । बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ ।

गीतमा भनिए जस्तो यतिबेला मुठ्ठीभर मान्छेको रजाइँ चलेको छ देशमा । अनपेक्षित दृश्य देख्नुपर्दा जनताको मन रोएको छ । तर रोएर यथास्थिति परिवर्तन हुनेवाला छैन । अपेक्षित परिवर्तनका लागि जनता फेरि बस्ती–बस्तीबाट उठ्नुपरेको छ ।

jackson ribon