Rumpum Advertisement

उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन आज, घिमिरे र ढकाल अध्यक्षमा भिड्दै

Neuro
उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन आज, घिमिरे र ढकाल अध्यक्षमा भिड्दै

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारण सभा तथा नयाँ नेतृत्व चयनको लागि आज (सोमबार) निर्वाचन हुँदैछ ।

झापाको बिर्तामोडमा हुने साधारण सभा सकिएपछि निर्वाचन हुने भएको हो । यस अघि पुस ११ गते निर्वाचन हुने मिति तोकिएको थियो । साधारण सभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो । पुस १४ गते उच्च अदालत विराटनगरले अन्तरीम आदेश खारेज गरेपछि भोली निर्वाचन हुन लागेको हो । बिर्तामोड उद्योग वाणिज्य संघको अतिथ्यमा उक्त साधारणसभा हुन लागेको बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्वको लागि दुई वटा समूह चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र भद्रपुरका व्यापारी तथा झापा उद्योग वाणिज्य महासंघको अध्यक्ष टीका ढकालको समूह चुनावी प्रतिस्पर्धामा छन् ।

घिमिरको समूहबाट उपाध्यक्षमा नविन रिजाललले उम्मेदावरी दिने भएका छन् । रिजाल मोरङ व्यापार संघका उपाध्यक्ष हुन् । सोही समूहबाट कोषाध्यक्षमा भीम पौडेल र डिकबहादुर कार्कीको नाम चर्चामा छ । दुई जना मध्ये एक जनाले घिमिरेको समूहबाट उम्मेदवारी दिने बुझिएको छ ।

ढकालको समूहबाट उपाध्यक्षमा झापाका कुमारमणि पोखरेल रहेका छन् । पोखरेल कनकाइ उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य महासंघ प्रदेशको कार्यसमिति सदस्य पनि हुन् । यस्तै सोही समूहबाट रमेश राठी कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनी बर्तमान कोषाध्यक्ष हुन् ।

साधरण सभा सकिएपछि १ बजेदेखि निर्वाचनको लागि मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा २ सय २९ सदस्यहरु छन् । जसमा एशोसिएट सदस्य १ सय ८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य संघका ३६ गरेर जम्मा २ सय २९ सदस्यसँग मताधिकार रहेको छ ।