Rumpum Advertisement

काठमाडौंमा पहिलो हिउँदे वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौंमा पहिलो हिउँदे वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर । काठमाडौं उपत्यकामा यस वर्षकै पहिलो हिउँदे वर्षा भएको छ ।

मौसममा आएको परिवर्तनसँगै आइतबार (गयराति)बाट वर्षा हुन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । केही क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र केही क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिमपातको सम्भावना रहेसँगै महाशाखाले पर्वतारोहण तथा यात्रा गर्दा उच्च सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ । साथै वर्षा तथा हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा गिरावट आएर देशैभरी चिसो बढ्ने महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरूका केही स्थानहरू तथा लुम्बिनी, बागमती र प्रदेश १ को भूभागहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरूका केही स्थानहरू तथा लुम्बिनी, बागमती र प्रदेश १ को भूभागहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राजधानी विराटनगरसहित प्रदेश १ मा सोमबार बिहान केही दिनयताकै अलि बढी चिसो महसुस गरिएको छ । मौसम धुम्मिएर बादलले आकाश छेकेपछि बिहान ७ः५० बजेसम्म घाम देख्न पाइएको छैन ।