Rumpum Advertisement

सेयर बजारमा फेरि नयाँ रेकर्ड

Neuro
सेयर बजारमा फेरि नयाँ रेकर्ड

विराटनगर । राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबीच पनि सेयर बजारले अर्को एक उचाइ लिएको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से नयाँ रेकर्ड कायम गर्दै २१७५.३९ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ४.२२ प्रतिशत अर्थात ८८.१२ अंकले बढेर नयाँ उचाइमा पुग्दै हालसम्मको उच्च रेकर्ड राख्न सफल भएको हो । बैंकर अनलराज भट्टराईका अनुसार सेयर बजारले राजनीतिसँगको प्रभाव तत्काल देखाए पनि हाल सस्तो ब्याजदर, अर्थ मन्त्रालयमा बजारमैत्री नेतृत्व तथा सेयर बजारमा प्रबेश गरेका नयाँ लगानीकर्ताका कारण बजारमा उत्साह आएको बताए ।

कोरोना कहरपछि विस्तारै अन्य आर्थिक गतिविधि पनि सुरु भएको तथा बजारमा व्यापक तरलता भएको कारण पनि सेयर बजारले नयाँ नयाँ रेकर्ड राखेको भन्दै उनले पछिल्लो ५÷६ वर्षमा बजारमा करिब दोब्बर लगानीकर्ता थपिएका तथा प्रविधिका कारण सेयर कारोबारमा सहजताका कारण पनि बजार उकालो लागेको बताए ।

गत साताको अन्तिम नियमित कारोबार दिन बिहीबार पनि सेयर बजार २५.२१ अंकको वृद्धिसहित २०८७.२७ बिन्दुमा बन्द भइ एक महिना अवधिमा नै अर्को नयाँ रेकर्ड बनाएको थियो । एक महिनाअघि मंसिर १७ गते नेप्सेले २०७१.०३ अंकको रेकर्ड बनाएको थियो । भट्टराईका अनुसार लगानीका अवसर साँघुरिएको तथा बैकको निक्षेपमा पैसा राख्दाभन्दा बजारमा लगानी गर्दा बढी प्रतिफल आउने देखेपछि पनि लगानीकर्ता सेयर बजारमा झुम्मिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा समेत ब्याजदर घटेर ७ प्रतशतको हारारहारीमा आइसकेको छ । बजार कति दिगो हुन्छ भन्ने यकिन नभए पनि भट्टराई बजार राजनीतिबाट अलग्गिन खोजेको जस्तो पनि देखिएको बताउँछन् । बजारले नयाँ उचाइ बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा सेयरको माग बढेको छ । कारोबार दैनिकमा समाचार छ