Rumpum Advertisement

संसद् विघटनविरुद्ध कांग्रेसले ६ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन गर्ने

Neuro
संसद् विघटनविरुद्ध कांग्रेसले ६ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन गर्ने

विराटनगर । संसद् विघटनको विरोधमा कांग्रेसले मुलुकका सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले प्रादेशिक निर्वाचन क्षेत्र र स्थानीय तहमा छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।
२५ पुसमा तीन सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा, ३ माघमा सात सय ५३ वटै स्थानीय तहमा र ८ माघमा देशैभरिका ६ हजार सात सय ४३ वटा वडामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी विरोध कार्यक्रमको तयारीमा जुट्न कांग्रेसले निर्देशन गरेको छ । यसअघि १३ पुसमा सबै संसदीय निर्वाचन क्षेत्रस्तरमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनविरुद्ध प्रदेश, पालिकास्तर र वडा तहमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक कार्य गरेको कांग्रेसको ठहर छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले बोलेका छन् । पौडेलले कांग्रेसले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा स्पष्ट धारणा राख्नुपर्नेमै अडान लिएका छन् । ‘मोही माग्ने ढुंग्रो लुकाउने गर्न ठीक हुन्न, पार्टीले स्पष्ट रूपमा संसद् पुनस्र्थापनाको पक्षमा वकालत गरौँ,’ पौडेलले भनेका थिए । तर, नेता सिटौलाले भने प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको ठहर भइसकेपछि पुनस्र्थापनाको विषयमा बोल्न जरुरी नहुने बताए ।

‘सरकारको कदम असंवैधानिक छ, अलोकतान्त्रिक छ, असंवैधानिक भनिसकेपछि त्यसलाई संवैधानिक बनाउनु भनेकै संसद् पुनस्र्थापना हुनु हो, त्यसैले सरकारको कदमको विरोध गरे पुग्छ,’ सिटौलाले भनेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ