Rumpum Advertisement

तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन हुने बताएका हुन् ।

कतिपय शक्तिहरुले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरे । प्रतिनिधिसभाको चुनाव नेपाली जनता र देशको आवश्यकता भएकोले चुनाव तोकिएकै समयमा हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद् पुनर्स्थापना गर्न नमिल्ने भन्दै विघटित संसद् नबौरिने बताए । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उनको भनाइ छ ।

पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेकोमा तथा संविधान संशोधन भएकोमा बहानामा गुटबन्दी गरेकोले सङ्गठन गतिशिल नभएको उनको भनाइ छ ।

पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउनमात्रै समय बरबाद गरेकाले संसद् भङ्ग गर्नुपरेको बताए । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा संसद् विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताए ।

प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिन्ह सूर्य आफूहरूले नै पाउने बताए । उनले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डातको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताए ।