Rumpum Advertisement

प्रदेशमा नेकपा विवाद : प्रचण्ड-माधव समूहले प्रमुख सचेतकलाई हटायो

प्रदेशमा नेकपा विवाद : प्रचण्ड-माधव समूहले प्रमुख सचेतकलाई हटायो

विराटनगर । नेकपा विभाजनपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीलाई जिम्मेवारीबाट हटाएकाे छ ।

आइतबार बसेको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई जिम्मेवारीबाट हटाएको हो ।

प्रमुख सचेतक राजभण्डारी ओली समूहका हुन् । उनले मंगलबार मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रचण्ड– माधव समूहका १९ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए । बिहीबार स्पष्टिकरण सोधिएका मध्ये १५ र बुधबार थप एक गरी १६ जनालाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।

आइतबार ४० जना प्रदेशसभा सदस्यको उपस्थीतमा बसेको बैठकले प्रमुख सचेतकलाई जिम्मेवारीबाट हटाएउने निर्णय गरेको नेकपा संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले बताए । उनका अनुसार सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिइएको छ । राई प्रचण्ड– माधव समूहकी हुन् ।

संसदको कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्ने सदस्य पनि परिवर्तन गरेको छ । यस अघि प्रमुख सचेतक राजभण्डारी र इन्द्रमणी पराजुली समितिमा प्रतिनिधित्व गर्दै आएको थिए ।

आइतबारको बैठकले संसदको कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्नका लागि प्रदेश सांसद लिलाबल्लब अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई तोकेको आङ्बुहाङले जानकारी दिए ।