Rumpum Advertisement

विसङ्गत शैक्षिक व्यवहारबीच समुन्नत समाजको कल्पना

विसङ्गत शैक्षिक व्यवहारबीच समुन्नत समाजको कल्पना
सरोज बराल

म एक शिक्षक हुँ, जोसँग संस्थागत (निजी) विद्यालय वा नेपाली बुझाइमा बोर्डिङ स्कुलमा पढाएको लामो अनुभव छ । तर विडम्बना के छ भने शिक्षा लिने–दिने विद्यमान परिपाटी र सामाजिक अनुभवमा एउटा शिक्षक सेवा–निवृत्त हुने बेलासम्म पनि उसँग सोचेअनुकूल विद्यार्थीहरूलाई सिकाउने अवसर र वातावरण नपाएको खुड्को बाँकी रहन्छ । यसका विविध कारणहरू छन्, कतिपय शिक्षक स्वयम्सँग सम्बन्धित, कतिपय शिक्षा नीति र कति चाहिँ सामाजिक मनोविज्ञानसँग सम्बन्धित छन् । मेरो यो आलेख निजीभन्दा पनि सार्वजनिक अनुभूतिसँग सम्बन्धित छ ।

पढाउने शिक्षक भएपछि पढ्नु पनि पर्छ । तर हामी शिक्षक भएको दिनदेखि नै पढ्ने काम छोडेका हुन्छौँ । अपवादबाहेक हामीले अध्ययन छोडेका हुन्छौँ । विद्यार्थीहरूसँग दोहोरो संवाद गर्दैनौँ । कक्षाकोठामा हामी शिक्षक कम र ‘आर्मी अफिसर’ बढी भएर जान्छौँ । अनुशासनको नाममा हामी आफूले जे चाहेका हुन्छौँ, त्यही गराउँछौँ ।

कक्षामा सिक्न र सिकाउनका शिक्ष र विद्यार्थीबीच लागि दोहोरो संवादको आवश्यक हुन्छ । तर हाम्रा विद्यार्थीलाई सुरुमै चुप लाग्न भनिन्छ । उनीहरू चुपचाप बस्नु भनेको अनुशासित हुनु हो भन्ने मान्यता छ । दोहोरो संवाद त पटक्कै हुँदैन । यसरी विद्यार्थीलाई मूर्ति बनाएर कसरी शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन्छ ?

मैले विद्यार्थीलाई समूह बनाएर, छलफल गराएर सिकाउन धेरै पटक प्रयास गरेँ । तर अधिकतर विद्यार्थी शिक्षकले किताबका हरफहरू पढेर सुनाएको र शिक्षकले जे बुझेको छ त्यो सुन्ने बानी परेका हुन्छन् । उनीहरू परम्परागतभन्दा अलि फरक तरिकाले पढाएको रुचाउँदैनन् । सुरुमा शिक्षकले सबै हरफहरू पढेर सिध्यायो अनि ‘बुझ्यौ ?’ भनेर सोध्यो । विद्यार्थीले एक–स्वरमा ‘बुझ्यौँ सर ! भन्छन् । यति भएपछि पाठ सकियो, कोर्स सकियो, नत्र सकिएन ।

विद्यार्थीको रुचि के–कस्तो छ, राम्रो बानी के छ, नराम्रो पो केही छ कि ? के कसरी सकारात्मक परिवर्तन गर्न सकिन्छ भनेर सुधारका अवसरहरूको खोजी अत्यन्त कम हुनेगर्छ । खोजी हुन्छ त फगत ग्रेड वा जिपिएको ।

विद्यार्थीलाई बुझाउने गरी सिकाउन थालियो भने पाठ पूरा हुँदैन । पाठ पूरा भएन भने विद्यार्थीले भन्छन्, ‘सरले पढाउनुभएन ।’ अभिभावकले भन्छन्, ‘शिक्षकले सबै पढाएनन्,’ अनि संस्थापकले भन्छन्, ‘किन नसिध्याएको ?’ यो चपेटामा परेको शिक्षकले के गर्दो हो ? त्यसबारेमा कसैलाई कुनै चासो छैन ।

विद्यालयको कम्पाउन्ड प्रवेश गर्नासाथ शिक्षकको हेराइमा विद्यार्थी कम अभिभावक बढी देखिन्छन्, जसलाई जीवनोपयोगी ज्ञानभन्दा पनि कम्तीमा ए ग्रेड चाहिएको हुन्छ । विद्यालय सञ्चालकको पनि अपेक्षा उही हुन्छ । विद्यार्थीको रुचि के–कस्तो छ, राम्रो बानी के छ, नराम्रो पो केही छ कि ? के कसरी सकारात्मक परिवर्तन गर्न सकिन्छ भनेर सुधारका अवसरहरूको खोजी अत्यन्त कम हुनेगर्छ । खोजी हुन्छ त फगत ग्रेड वा जिपिएको ।

भगवती मावि इनरुवाका विद्यार्थी कक्षामा शिक्षकका कुरा सुन्दै ।

विचरा जो राम्ररी हिँड्न जानेका हुँदैनन्, तिनले दौड जित्नुपर्ने हुन्छ । अर्काको छोराछोरी जान्ने भयो भनेर त्योसँग गरिने तुलनाले झन् विद्यार्थीलाई झन् कमजोर बनाउँछ । तर त्यो कुरा बुझ्नसँग अभिभावकलाई खासै सरोकार हुँदैन । म डेरा बसेको बखत घरबेटीले नर्सरीमा पढ्दै गरेको मेरै छोरालाई देखाएर ‘बरु त्यसको आची खा न, अलिक पढ्न आउँछ कि ?’ भनेर आफ्नो छोरालाई झपारेको सुनेको छु । यस्तो व्यवहारले एउटा बालकको मनोविज्ञानमा कस्तो असर गर्ला भनेर पढेलेखेका अभिभावकसमेत सोच्दैनन् भने अरूको के कुरा गर्नु ?

कुनै विषयमा अलिकति कम अङ्क आयो वा फेल भयो भने घरमा विद्यार्थीले निश्चित रूपमा गाली खानुपर्छ, अपमानित हुनुपर्छ । त्यस्ता विद्यार्थीका लागि घर तथा विद्यालयमा सकारात्मक उत्प्रेरणाका अवसरहरू ज्यादै कम हुन्छन् । अनि सुरु हुन्छ ट्युसन पढाउने खर्चिलो र बोmिभलो सिलसिला । विचरा १० किलोको भारी बोकेर (कक्षाको पढाइ) हिँड्न सकेको छैन, उसलाई अरू १० किलो (ट्युसन) थपेर बोकाइन्छ । यसरी ट्युसन नामको अनावश्यक बोझ पनि नानीहरूले बोकेर हिँडिदिनुपरेको छ । अनि यसैबाट अभिभावकको रवाफ सुरु हुन्छ, ‘मैले यत्रो ट्युसन पढाएको छु, फेल कसरी हुन्छ ?’

धावन्ती खेती, घोकन्ती विद्या भन्ने परम्परागत भनाइलाई शिक्षा लिने–दिने प्रक्रियाको आधार बनाइन्छ । विद्यार्थीले बुझ्ने कम र शिक्षकले आफूले बुझेको कुरा थोपर्ने काम बढी हुन्छ ।

हुन त यसरी ट्युसन पढाउनु ठिक होइन भन्दै गर्दा केही ट्युसन पढाउने शिक्षक साथीहरूले आफ्नो कमाइमा धावा बोलेको सम्झनुहुन्छ । मलाई कुनै समय केही शिक्षकहरूले यस्तै गुनासो गरेका पनि थिए, जब मैले अभिभावकलाई आफ्ना नानीहरूलाई ट्युसन पढाउनुपर्दैन भनेको थिएँ । तर सहकर्मीहरू रिसाए पनि म ट्युसन पढाउने कुराको समर्थन गर्दिनँ । किनकि ट्युसनमा होस् वा कक्षामा शिक्षकले सिकाउने कम घोकाउने बढी गर्छन् । धावन्ती खेती, घोकन्ती विद्या भन्ने परम्परागत भनाइलाई शिक्षा लिने–दिने प्रक्रियाको आधार बनाइन्छ । विद्यार्थीले बुझ्ने कम र शिक्षकले आफूले बुझेको कुरा थोपर्ने काम बढी हुन्छ ।

शिक्षकले कक्षामा कक्षाकार्य केन्द्रित भएर पढाउने भन्दा पनि गृहकार्य केन्द्रित भएर पढाउनुपर्ने अवस्था अभिभावकले नै बनाउँछ्न् । जुन स्कुलमा गृहकार्य बढी दिइन्छ, त्यो स्कुलको पढाइ राम्रो भन्ने ठान्छन् । कतिपय अभिभावकहरू आफैँ स्कुल गएर ‘बढी होमवर्क दिनुप¥यो, केटाकेटीले खेलेर दिक्क लगाए । उनीहरूले खेल्ने फुर्सद नपाउन्,’ भन्छन् । यति भएपछि सञ्चालकले पनि शिक्षकलाई होमवर्क बढी दिनु भन्नैपर्‍यो, शिक्षकले पनि दिनै पर्‍यो । अब स्कुल जाने विद्यार्थीको दिनचर्या हुन्छ– स्कुल जा, एउटा बेन्चमा मूर्तिजस्तो बस्, होमवर्क देखा, शिक्षकको भाषण सुन्, अर्को दिनको होमवर्क के छ त्यो प्रश्न टिप्, घर आइज, लेख्न बस् । यस्तो दिनचर्याका बीचमा विद्यार्थीले केही सिक्छ कि सिक्दैन, त्यो प्रमुख सरोकारवालाकै सरोकारमा पर्दैन ।

शिक्षकको काम पनि त्यस्तै हुन्छ । आज होमवर्क दियो, भोलि चेक गर्‍यो, फेरि होमवर्क दियो, पर्सि चेक गर्‍यो । त्यो होमवर्क विद्यार्थीले गर्‍यो कि अरू कसैले सिकाइदियो त्यो हेरिन्न । फेरि होमवर्क दियो । बीचमा विद्यार्थीले जान्यो कि जानेन भन्ने शिक्षकको प्राथमिकतामा पर्दैन । विद्यार्थीले पनि आफ्नो लेखाइ कति ठिक, कति बेठिक भनी सही तरिकाको पृष्ठपोषण पाउँदैन ।
कसैले बुझ्न नचाहेको कुरा चाहिँ स्कुल सिक्ने–सिकाउने केन्द्र हो कि होमवर्क लिने–दिने रिले स्टेसन ? होमवर्क गरेर उसले सिक्छ कि क्लासवर्क, प्रयोगात्मक अभ्यास गरेर सिक्छ ? तर हामीले कक्षामा सिकाउने मौका कसरी पाउँछौँ ? अनि सिकाउनु भनेको आफूले जानेको कुरा नानीहरूको दिमागमा खाँद्नु मात्र हो भन्ने भ्रममा हुन्छन् अधिकतर शिक्षकहरू ।

उदाहरणका लागि कुनै कविताको व्याख्या गर्दै लेखिन्छ, ‘यो कवितामा कविले यस्तो भन्नुभएको छ … ।’ कसैले त्यहाँ खोजी गर्दैन शिक्षकले बताएको कुरा कविको हो कि सोही शिक्षकको स्वभाव, विचारअनुकूल हो ? बस् यान्त्रिक तबरले शिक्षकले बुझेको कुरा आफ्नो टाउकोमा कोच्नुलाई पढेको र आफ्नो टाउकोमा भएको कुरा विद्यार्थीको टाउकोमा कोच्नुलाई पढाएको सम्झिइन्छ । त्यो कविता पढेर विद्यार्थीले के बुझ्यो ? उसलाई कस्तो अनुभूति भयो ? त्यो कमै खोजिन्छ ।

विद्यार्थीलाई नट–बल्टुजस्तो गरेर रेन्चले कस्ने कामले हरेक शैक्षिक–सत्रमा प्राथमिकता र निरन्तरता पाउँछ ।

विद्यार्थीले बुझेको कुरा आफूले बुझेका कुरासँग मिल्यो कि मिलेन, त्यही हेरेर अङ्क दिने परिपाटी छ । नानीहरूसँग पनि दिमाग छ, तिनीहरूले पनि सोच्न, बुझ्न, अनुभूति गर्न पाउनुपर्छ भन्ने तिर न अधिकतर शिक्षकले, न अभिभावकले ध्यान दिन्छन् । न विद्यालय सञ्चालक नै यसबारेमा गम्भीर छन् । बस् विद्यार्थीलाई नट–बल्टुजस्तो गरेर रेन्चले कस्ने कामले हरेक शैक्षिक–सत्रमा प्राथमिकता र निरन्तरता पाउँछ ।

तर सबै बल्टुमा एकनासको नट लाग्दैन । तथापि हामी उही निरन्तरतालाई मूल्याङ्कनको आधार बनाउँछौ र प्रथम, द्वितीय, तृतीय … भन्दै हामी उनीहरूलाई प्रतिस्पर्धामा दौडाइदिन्छौँ … एभन्दा पछाडि पर्नुहुँदैन भन्ने पदावली बोझ (दबाब) बोकाएर ।

हुन त यो सबै हुनुमा हाम्रो शिक्षा प्रणाली पनि दोषी छ । हाम्रो शिक्षा फगत बेरोजगार उत्पादन गर्ने प्रकारको छ । विद्यार्थीहरूले प्लस टु सिध्याउन्जेलसम्म कुनै काम गर्न जानेका हुँदैनन् । काम गर्न सिकाउने, दक्ष बनाउने खालको शिक्षा सबैको पहुँचमा छैन । सीमित ठाउँमा त्यस्ता अवसरहरू छन्, तर तिनले सबैलाई सम्बोधन गर्न सक्दैन ।

शिखरापुर सामुदायिक सिकाइ केन्द्र फर्पिङको कक्षाकोठा ।

यसबाहेक विद्यमान शिक्षा–प्रणालीले कामको सम्मान हुने वातावरणका लागि खासै सहजीकरण गर्दैन । बरु कामलाई सानो–ठूलो भन्ने धारणा विकास गराउँछ । हाम्रो शिक्षाले जुनसुकै काम पनि काम हो र त्यो गर्नुपर्छ भन्ने सिकाउँदैन । ठूलो (अलि धेरै पैसा आउनेखालको सुकिलो–मुकिलो) काम गर्नुपर्छ अनि मात्र ठूलो मान्छे भइन्छ भन्ने मान्यता छ । सफल हुनलाई धेरै कमाउन सक्नुपर्छ भन्ने सोच हुर्काइन्छ । कमाउन नसक्ने असफल हो भनेर भ्रष्ट बन्न उक्साउने शिक्षा र सामाजिक व्यवहारले समुन्नत समाजको कल्पना कसरी गर्न सकिएला ?

अग्र तस्बिर : सरस्वती जब्दी मावि इटहरीका विद्यार्थी कक्षामा बेलुन फुटाउने खेल खेल्दै ।

प्रतिक्रिया दिनुहोस्: