Rumpum Advertisement

चार वर्षपछि इब्राहिमोभिक राष्ट्रिय टोलीमा फर्किनसक्ने

चार वर्षपछि इब्राहिमोभिक राष्ट्रिय टोलीमा फर्किनसक्ने

विराटनगर । ज्लाटान इब्राहिमोभिकले पछिल्लो चार वर्षयता स्वीडेनको राष्ट्रिय टोलीबाट खेलेका छैनन् । २२ जुन २०१६ मा युइएफए युरो कपका क्रममा बेल्जियमसँग १–० गोलले पराजित भएयता स्ट्राइकर इब्राहिमोभिक राष्ट्रिय टोलीमा फर्किएका छैनन् ।

उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिनुभन्दा अगाडि एक सय १६ खेल खेल्दा ६२ गोल गरेका थिए । उनी स्वीडेन सर्वाधिक गोलकर्ता हुन् ।

सन्यास लिएयता भने उनको ध्यान क्लब फुटबलमा मात्र छ । तर, अब भने केही महिनाभित्र उनी राष्ट्रिय टोलीमा फर्किने सम्भावना बढेको छ । अब उनी पुनः पहेँलो जर्सीमा देखिने सम्भावना अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इटालियन मिडिया ‘ला गजेट्टा डेल्लो स्पोर्ट्स’को शनिबारको रिपोर्टअनुसार स्वीडेन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जाने एन्डरसनले युरो कपका लागि इब्राहिमोभिकलाई स्थान दिनसक्ने बताएका छन् ।

एन्डरसनले क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका इब्राहिमोभिकलाई पुनः राष्ट्रिय टोलीमा फर्काउने प्रयास थाल्ने जनाएका छन् । ‘ज्लाटान राष्ट्रिय टोलीमा फर्किने विषयमा गम्भीर छन् । मेरो जिम्मेवारी भने कोही खेलाडीले राम्रो गरिरहेको छ भने उसलाई खेलाउनु हो । यसलाई मैले मध्यनजर गरिरहेको छु,’ उनले भनेका छन् ।

हाल ३९ वर्षीय इब्राहिमोभिकले एसी मिलानबाट उत्कृष्ट खेलिरहेका छन् । उनले सिरी ‘ए’मा ६ खेल खेल्दा १० गोल गरेका छन् ।