विराटनगर । स्पेनिस क्लब बार्सिलोनाले आज सन् २०२१ को पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने खेलमा बार्सिलोनाले हुएस्कासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
हुएस्काको मैदानमा हुने यस खेलमा दुवै टोली अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछन् । १५ खेल खेलेको बार्सिलोना हाल छैटौं स्थानमा छ । उसँग २५ अङ्क छ । हुएस्का भने १२ अङ्कसहित पुछारमा छ ।
यस खेलबाट बार्सिलोनाका कप्तान लियोनल मेस्सी मैदान फर्किनेछन् । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइक्यानले अर्जेन्टिनी स्टार मेस्सीलाई हुएस्काविरुद्ध खेल्ने टोलीमा राखेका छन् ।
चोटका कारण यसै साता भएको इबरसँगको खेल गुमाएका मेस्सी शुक्रबारबाट प्रशिक्षणमा फर्किएका हुन् । अर्जेन्टिनी स्टार मेस्सीले गत मङ्गलबार भएको इबरसँगको खेल खेल्न पाएका थिएनन् ।
आफ्नै मैदान क्याप नोउमा भएको खेलमा बार्सिलोनाले १–१ गोलको बराबरी खेलेको थियो । खुट्टाको उपचार गराएका उनलाई बार्सिलोनाले सो खेलमा आराम दिएको थियो । मेस्सीले दर्शकदीर्घामा बसेर पूरा अवधिभर खेल हेरेका थिए ।
शुक्रबारबाट उनी सामूहिक प्रशिक्षणमा फर्किएका थिए ।