दाङ । दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं १ ले जितेको छ ।
आइतबार भएको फाइानल खेलमा विभागीय टोली एपिएफलाई छ रनले हराउँदै प्रदेश नं १ ले उपाधि जितेको हो ।
दाङको लमहीमा प्रदेश १ ले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।
एपिएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
प्रदेश १ का लागि रुवीना क्षेत्री र एलिसा खडियाले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । प्रदेश नं १ का लागि अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ र रुवीना क्षेत्रीले १८ रन बनाए ।

उपाधिसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको एपिएफले तीन लाख र सेमिफाइलनमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले २५/२५ हजार रुपैयाँ पाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
प्रधानमन्त्री कप : रोमाञ्चक फाइनल खेल, स्टेडियम भरिभराउ दर्शक