Rumpum Advertisement

राष्ट्रपतिमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग

राष्ट्रपतिमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग

काठमाडौँ/अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारवाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले आइतबार गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरुविरुद्ध कानुनी कारवाही गर्न माग गरेको हो ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसङ्घले आपत्ति जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनीय र अर्मयादित विषय उठाइएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले सम्बन्धित निकायलाई छानविन गरी कारवाही गर्न निर्देशन दिएको पनि बताए ।

नाराबाजी गर्नेविरुद्ध कानुनी कारवाही गरिनुपर्ने अन्यथा आफूहरु नै कानुनी प्रक्रियामा जाने अनेमसङ्घकी नेतृ शर्मिला कार्कीले बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी हुने गरेको छ ।