Rumpum Advertisement

कोरोनाले विदेशमा थप तीन नेपालीका मृत्यु

Neuro
कोरोनाले विदेशमा थप तीन नेपालीका मृत्यु

विराटनगर/कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा एक जना र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल सङ्ख्या (२० देशका) तीन सय १५ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार छ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार आठ सय ७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार चार सय ३८ छ भने दुई लाख ५३ हजार आठ सय ५७ जना अर्थात् ९७ दशमलव १ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

अप्रिलको अन्त्यसम्म नेपालमा खोप आउन सक्ने

हाल विश्वका केही मुलुकहरुले फाइजर एन्ड बायोएनटेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोनाविरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरणसमेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ ।

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकाले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औँल्याएको छ ।

भारतसहित बेलायत, यूरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।