Rumpum Advertisement

कुनै आफन्तले गर्व नगर्ने विषय

कुनै आफन्तले गर्व नगर्ने विषय

अब केदार दाइ र म अँधेरी गाउँ हुदै पामाखामु भन्ज्याङतर्फ लाग्यौँ ।

पानी परेकाले बाटो चिप्लो थियो बिस्तार–बिस्तार हिँड्नुपर्ने । हामी लिकुवा सिरानको अँधेरी गाउँ छिचोल्दा दिन ढल्किसकेको थियो । यो ठाउँलाई जहिले पनि बादलले ढाक्ने भएकोले अँधेरी भन्ने गरिन्छ ।

अँधेरीबाट उकालो उक्लिँदै मास्तिर जङ्गलमा पुग्यौँ । जङ्गलको बाटो (दुई हजार मिटर) यताउति अवलोकन गर्दै हिँड्दा–हिँड्दै बाटो हरायो । जङ्गल छिचोलेपछि बल्ल–बल्ल एउटा नागी टारमा गोठ भेटियो । सिमसिम पानी अनि हलहुले भन्ज्याङको सिरसिरे चिसो हावा । निकै जाडो भई जिउ पनि काम्न लाग्दै थियो ।

‘मरता क्या नही करता’ भनेझैँ हाम्रो पालो त्यही गोठभित्र पस्यौँ । एउटी सानी बच्चीमात्र आगो ताप्दै गरेकी रहिछिन् । हामीलाई देख्दासाथ डराएर भाग्न खोजिन ।

‘नानी ! हामी परदेशी हौँ, नडराऊ,’ मैले भनेँ ।

पृष्ठभूमिमा मध्य–पहाडी भूभाग

यत्तिकैमा तिनका बाबु जङ्गलबाट आइपुगे । सोधखोज भयो । चिनेकै खड्का क्षेत्री दाइ रहेछन् । भलाकुसारीका कुरा गर्दै निकैबेर आगो ताप्यौँ । खड्का दाइले हरिया मकै पोलिदिए । भोक लागेको थियो अमृत जत्तिकै लाग्यो ।

कटुजे पुग्ने सम्भावनै थिएन । त्यस गोठमा पनि बस्ने ठाउँ थिएन ।

खड्का दाइलाई त्यहाँबाट नजिक पर्ने गाउँ कति टाढा पर्छ भनेर सोध्यौँ । उनले ‘एक घन्टा जति हिँड्दा खैला भन्ने गाउँ पुगिन्छ’ भने । मैले सम्झिहालें त्यहाँ त मेरी एक जना भान्जीको घर हुनुपर्छ । लौ अब त्यहीं पुगौँ भनेर हिँड्यौँ ।

एक घन्टा जति पातले–कटुसको जङ्गली बाटो हिँडेपछि एउटा सानो गाउँ आइपुग्यो । त्यही रहेछ खैला (दुई हजार एक सय मिटर) । हलहले भन्ज्याङ र पामाखम भन्ज्याङको माझमा भएको हुँदा यहाँ निकै जाडो रहेछ ।

१०–१५ वटा घर भएको त्यो सबै राईगाउँ नै रहेछ । त्यति उचाइमा रहेको राई गाउँ त्यही नै थियो ।
साँझ पर्न लागिसकेको थियो । बाटोमा भेटेको एक जना सानो गाउँले भाइले टुप्लुक्कै भान्जीको घर पुर्‍याइदिए । मामाहरू अचानक आइपुगेको देख्दा भान्जी र भान्जे–ज्वाइँ तीन छक्क परे ।

राति चारवटा पाहा खोजेर ल्याउनुभएछ, ज्वाइँसाहेबले । तर धक मानेर मलाई देखाउनु पनि भएन

बेलुकीको खाना–साना खाइसकेपछि एकछिन दुःख–सुखको गफ चल्यो । त्यसपछि ज्वाइँसँग पाहाबारे सोधेँ । धक मानेर हो वा अप्रत्याशित रूपमा पाहाबारे सोधिएको प्रश्नले गर्दा ज्वाइँ अकमक्क पर्नुभयो ।

‘किन र मामा ?’ भान्जीले भनिन् ।

मैले त्यसै विषयमा पिएचडी (विद्यावारिधि) गर्दै गरेको कुरा बताएँ ।

जिब्रो लेप्राउँदै ‘हैन पाहामा केको पढाइ हुन्छ र मामा अरू विषयमा गर्दा हुन्न ?’ कति निर्दोष तर अनभिज्ञ प्रश्न गरिन् भान्जीले !

जन्मदेखि मर्दासम्म पाहा नै प्रयोग गरिने राई समाजमा त्यसलाई अझ ज्यादै के नै पढ्नु पर्छ र ! भन्ने अवधारणा भएको समाजमा म कसरी भान्जीलाई सम्झाउँ !

केदार दाइले झट्टै निकास निकाल्दै ‘हैन, हामीले यसलाई विभिन्न काममा प्रयोगमात्र गर्ने गर्‍यौँ, तर कान्छा भाइले चाहिँ वैज्ञानिक अध्ययन गर्छ अरे !,’ भन्नुभयो ।

मन पाहा (राई बान्तवा भाषामा), लिबिग पाफ्रोग (अङ्ग्रेजीमा), न्यानोराना लिबिजी ( वैज्ञानिक नाम)

‘लौ पाहा पनि पढ्नु पर्दोरहेछ !’ भन्दै ज्वाइँतिर फर्केर भनिन्, ‘मामालाई पाहा खोजी ल्याइदेऊ त !’
ज्वाइँ मुसुमुसु हाँस्दै टर्च बोकेर बाहिर निस्कनुभयो ।

यसप्रकार मेरो पिएचडीको विषयवस्तु सुन्दा र हेर्दा भाइबन्धुहरू, नाता, कुल–कुटुम्ब, आफन्तहरू अचम्म नमान्ने कोही भएनन् ।

लेकको गाउँ, ढिलै उठिएछ । लेकाली मौसम, लेकाली हावापानी ।

राति चारवटा पाहा खोजेर ल्याउनुभएछ, ज्वाइँसाहेबले । तर धक मानेर मलाई देखाउनु पनि भएन । भान्जीले ल्याएर देखाइन् । कुन पाहा हुन् भनेर सोध्दा भान्जीले ‘मन पाहा (न्यानोराना लिबिगी) र काङमाकहरू (ओम्नराना स्पेक) हुन्,’ भनिन् ।

भान्जीको घरबाट बिदा भएर पामाखाम भन्ज्याङतर्फ लाग्यौँ । ज्वाइँ माथि देउरालीसम्म पु¥याउन आउनुुभयो । त्यहाँबाट तल खैला गाउँ हेर्‍यौँ । आहा ! पूर्ण प्राकृतिक क्या सुन्दर लेकाली गाउँ !

भान्जी आँगनमै उभिएर हात हल्लाउँदै थिइन् । ज्वाइँसँग बिदा हुँदै, हामीले पनि भान्जीतर्फ हेरेर हात हल्लायौँ र पल्लो गौँडातिर पस्यौँ ।

बाटोमा हिँड्दै गर्दा मलाई ‘मैले मेरा आफन्तहरूले गर्व गर्ने खालको विषयवस्तु छानिनछु,’ जस्तो पनि लाग्यो ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट