
ग्यास्ट्रिक तथा कलेजो रोग विशेषज्ञ
कलेजोले गर्ने मुख्य कार्यलाई मेटाबोलिक कार्य भनिन्छ ।
कलेजोले प्रोटिन, कार्बोहाइड्रेट र फ्याटलाई पचाउने तथा मटाबोलाइज गर्ने काम गर्छ । हामीले खाने खानामा हुने विकार पदार्थ, टक्सिन, ब्याक्टेरिया तथा भाइरस आन्द्राबाट सोसिएर कलेजोमा जान्छ । कलेजोमा जम्मा भएका ती रासायनिक पदार्थ तथा विषाक्त पदार्थ छानिने (फिल्टर गर्ने) काम अर्थात् डिटक्सिफिकेसन हुन्छ ।
कलेजोले शरीरको कार्य गर्नका लागि चाहिने विभिन्न प्रोटिन, टाइग्लिसेराइड, कोलेस्टेरोल, फ्याटी एसिडको उत्पादन गर्ने, युरिया लगायत विभिन्न इन्जाइम बनाउने, रातो रक्तकोषिकाको उत्पादन गर्ने, आन्द्रामा किटाणुको विकास हुनबाट रोक्न मद्दत गर्छ । कलेजोले बनाउने क्लटिङ फ्याक्टर्सले शरीरभित्र वा बाहिर कुनै पनि कारणले रक्तश्राव भएमा रगतलाई जमाएर रगत बग्नबाट रोक्छ ।
कलेजोले पुराना भइसकेका रातो रक्तकोषिकालाई नष्ट गरेपछि बिलुरुबिन (जुन शरीरलाई चहिँदैन) नामक पदार्थ उत्पादन हुन्छ । शरीरमा तथा रगतमा बिलुरुविनको मात्रा अत्यधिक भएमा आँखामा जम्मा हुने, जन्डिस हुने हुन्छ । बिलुरुबिनबाट कलेजोले पित्त रस बनाउँछ । पित्त रस गएर खानेकुरामा मिसेर खाना पचाउने काम गर्छ ।
शरीरमा फ्याट मेटाबिलिजम हुने गर्छ जसको महत्वपूर्ण सेन्टर भनेको कलेजो हो । छालाको तल्लो तह, पेटलगायत अन्य भागमा बोसो जम्मा हुने गर्छ (फ्याट टिस्यु) जुन हाम्रो शरीरलाई चाहिने महत्वपूर्ण तत्वमध्ये एक हो । बढी भएको बोसो कलेजोमा आफैँ जम्मा हुने गर्छ । बोसोबाट अत्यधिक मात्रामा क्यालरी निस्कने गर्छ । तर, शरीरमा चाहिनेभन्दा बढी बोसो जम्मा भएका यसले कलेजोको सानो–सानो कोषलाई बिगार गर्दै लानसक्छ । र, कलेजोमा बोसो लाग्दा आफूले गर्दै आएको सबै कार्य तथा प्रक्रियामा अवरोध उत्पन्न हुन थाल्छ ।

फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्मा हुने समस्या
फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्मा हुने समस्या कलेजोको कोशिकामा बढी मात्रामा बोसो उत्पन्न हुने स्थिति हो । कलेजोमा पाँच प्रतिशत वा सोभन्दा कम मात्रामा बोसो जम्मा हुनुलाई सामान्य मानिए पनि योभन्दा बढ्दै गएमा फ्याटी लिभर रोग भएको मानिन्छ । रगत परीक्षणमार्फत् लिभरको कार्य क्षमता (लिभर फङ्सन टेस्ट) को जाँच गरेर कलेजोमा बोसो जमेको समस्या पत्ता लगाउन सकिन्छ ।
कलेजोमा जम्मा भएको बोसोले कलेजोलाई असर गरिरहेको छ भनेर सङ्केत आउँछ । यसको साथै, अल्ट्रासाउन्ड, सिटी स्क्यानमार्फत् पनि फ्याटी लिभरको समस्या भएको पत्ता लगाउन सकिन्छ । यसलाई ग्रेड वान, ग्रेड टु र ग्रेड थ्री गरी तीनवटा ग्रेडमा विबाजन गरिएको हुन्छ । ३३ प्रतिशतसम्म कलेजोमा बोसो जम्मा भए ग्रेड वान भएको बुझिन्छ भने ५० प्रतिशतसम्म जम्मा भए ग्रेड टु भएको भनिन्छ । साथै, ५० प्रतिशतभन्दा बढी अर्थात् ग्रेड थ्री भएमा कलेजोको भन्दा धेरै बोसो जम्मा भएको हुन्छ र यो अवस्थालाई गम्भीर मानिन्छ ।
अत्यधिक बोसो तथा लामो समयसम्म बोसो जम्मा भएमा यसले कलेजोलाई क्षति पुर्याई कलेजोलाई बिगार्ने काम गर्छ । कलेजोमा भएका बोसो नियन्त्रण नगर्दा बिस्तारै कलेजोमा सानो–सानो घाउ बन्दै कलेजो कडा (फाइब्रोसिस) हुँदै जान्छ । कलेजोको नरम कोषिका कडा हुँदै गएपछि घाउमा बन्ने दाग जस्तो कलेजोमा पनि दागको मात्रा बढ्दै जान्छ ।
फाइब्रोसिसको अवस्थामा समेत रोगलाई रोक्ने प्रयास गरिएन भने सिरोसिस हुने गर्छ जुन कलेजो क्षति हुने अन्तिम अवस्था हो । कलेजोले काम गर्न छोडेपछि जन्डिस हुने, पेटमा पानी जम्ने, दिमागको प्रेसर बढ्ने, आन्द्रा, खाना नली तथा रगतका नली फुल्ने, रक्तश्राव हुने, मुखबाट रगत आउने, दिसाबाट रगत आउने, मृगौला ड्यामेज हुने तथा बिरामीको मृत्यु समेत हुनसक्छ । विकार पदार्थलाई कलेजोले छान्न नसक्दा हानिकारक पदार्थ रगतमा मिसिन गई एमोनियाको मात्रा धेरै हुने, दिमागको कार्यमा असर पुग्ने हुदा बिरामीलाई रिँगटा लाग्ने, अत्यधिक निद्रा लाग्ने, दिमागले राम्रो काम नगर्नेसमेत हुन सक्छ । जसकारण कलेजो प्रत्यारोपण गर्नुपर्ने स्थितिसमेत उत्पन्न हुनसक्छ ।
कलेजोले काम गर्न छोडेपछि जन्डिस हुने, पेटमा पानी जम्ने, दिमागको प्रेसर बढ्ने, आन्द्रा, खाना नली तथा रगतका नली फुल्ने, रक्तश्राव हुने, मुखबाट रगत आउने, दिसाबाट रगत आउने, मृगौला ड्यामेज हुने तथा बिरामीको मृत्यु समेत हुनसक्छ ।
कलेजोमा बोसो जम्ने मुख्य कारण
रक्सीको सेवन गर्नेमा (अल्कोहलिक फ्याटी लिभर) कलेजोमा बोसो जम्ने समस्या उत्पन्न हुने मुख्य कारण हो । रक्सीले शरीरका अन्य भागमा भएको बोसोलाई समेत कलेजोतर्फ आउन आकर्षित गर्ने हुदा रक्सी सेवन गर्ने अत्यधिक व्यक्तिमा (५० प्रतिशत वा सोभन्दा बढीमा) फ्याटी लिभरको समस्या देखिने हुन्छ । अर्को मुख्य कारणमा भने चिनी रोग अर्थात् मधुमेहका बिरामीमा पनि फ्याटी लिभरको समस्या देखिने गरिन्छ । मधुमेहको रोगीहरूमा सुगरको मात्रा बढी भएर बोसोको रूपमा जम्मा हुँदै जान्छ ।
बढी भएको बोसो कलेजोमा जम्मा हुँदै जान्छ र फ्याटी लिभरको समस्या हुन्छ । यसलाई रक्सीको सेवन नगरे पनि अर्थात् ननअल्कोहलिक फ्याटी लिभर रोग भनिन्छ । ननअल्कोहलिक फ्याटी लिभर मधुमेहका अलावा शरीरमा अत्यधिक बोसोको मात्रा भएमा वा मोटोपना (ओबेसिटी), कोलेस्टेरोल, ट्राइग्लिसेरटइडको मात्रा चाहिनेभन्दा बढी मात्रामा भएमा तथा शारीरिक गतिविधिको कमीका कारण पनि फ्याटी लिभर गराउन सक्छ । यसका साथै ब्लड प्रेसर, टिवी, छारेरोग तथा पेनकिलर लगायतका विभिन्न उपचारका लागि खाइने औषधिका कारण पनि फ्याटी लिभर हुने सम्भावना रहन्छ ।
वंशानुगत (परिवारको कुनै सदस्यमा भएमा सर्ने) वा मानिस जन्मजात दुब्लो भएका कारण शरीरमा बोसोको मात्रा ठिक्क भए पनि जिनमा खराबीका कारण असन्तुलन भई बोसोको मात्रा नियन्त्रण हुन नसकी फ्याट बढी जम्मा हुने प्रक्रिया हुने कारण पनि फ्याटी लिभर हुने सम्भावना रहन्छ ।
फ्याटी लिभर हुने सबैको कलेजो बिग्रँदैन
फ्याटी लिभर हुने सबैलाई कलेजो बिग्रने समस्या हुन्छ भन्ने हुँदैन । १५ देखि २० प्रतिशतलाई मात्र फ्याटी लिभरको समस्या हुने गर्छ । त्यसमध्ये पनि फ्याटी लिभर हुने एक सय मानिसमध्ये १५ देखि २० जनामा मात्र कलेजो बिग्रने समस्या हुनसक्छ । अन्यमा कलेजोमा बोसो जम्मा भए पनि यसले खासै असर भने गर्दैन । फ्याटी लिभर भएमा सामान्यतः कुनै लक्षण नदेखाउन पनि सक्छ ।
अवस्था गम्भीर भएपछि मात्रै लक्षण देखिन थाल्छ । कलेजो ड्यामेज भइरहे पनि कुनै पनि प्रकारको लक्षण नदेखिन पनि सक्छ । कलेजो स्यामेज भएर अन्तिम स्टेजसम्म पुग्दासमेत पनि कसैमा कुनै पनि लक्षण देखा नपर्न पनि सक्छ । यसकारण नियमित रुपमा लिभरको जाँच गराउन अति आवश्यक हुन्छ ।
अल्कोहलिक वा नन अल्कोहलिक जुनसुकै फ्याटी लिभर भए पनि मदिराजन्य पदार्थको उपयोग बन्द गर्नु नै मुख्य उपाय हो । मोटोपनाका कारण पनि फ्याटी लिभरको समस्या हुने भएकाले खानपानमा नियन्त्रण गर्नुपर्छ । मधुमेह, कोलेस्ट्रोल, उच्चरक्तचापलाई पनि नियन्त्रणमा राख्नु जरुरी छ ।
फ्याटी लिभर हुन नदिन अपाउनुपर्ने सतर्कता
शारीरिक सक्रियतामा कमी, फास्टफुडलगायत बोसो र चिल्लोयुक्त खाद्यपदार्थको अत्यधिक सेवनले गर्दा रक्सीको सेवन नगर्नेहरूमा पनि नन अल्कोहलिक फ्याटी लिभरको समस्या बढ्दो छ । समयमा नै विचार पु¥याउन तथा नियन्त्रण गर्न सकिएन भने यसले सिरोसिसजस्तो भयानक रोगको रूप लिनुका साथै मृत्युको जोखिमसमेत बढाउने गर्छ ।
अल्कोहलिक वा नन अल्कोहलिक जुनसुकै फ्याटी लिभर भए पनि मदिराजन्य पदार्थको उपयोग बन्द गर्नु नै मुख्य उपाय हो । मोटोपनाका कारण पनि फ्याटी लिभरको समस्या हुने भएकाले खानपानमा नियन्त्रण गर्नुपर्छ । मधुमेह, कोलेस्ट्रोल, उच्चरक्तचापलाई पनि नियन्त्रणमा राख्नु जरुरी छ । रातो मासु, बोसो चिल्लोजन्य खानेकुरा, जङ्क फुड, फ्राइड तथा तेलमा तारेको खानेकुरा, कोकाकोला, फेन्टालगायतका कार्वोनेटेड पेयपदार्थको सेवन बन्द गरेर सागसब्जी तथा फलफूलमा जोड दिएर शारीरिक सक्रियता, व्यायाम आदि गर्दा कलेजोमा भएको बोसो बिस्तारै कम हुँदै जान्छ । दौडेर, योग वा एरोबिक वा आफूलाई सहज हुने जुन पनि तरिकाको व्यायाम पसिना निस्कने गरी दैनिक कम्तिमा आधा घण्टासम्म गर्नुपर्छ ।

खानेकुरालाई नियन्त्रण गरी व्यायाममा ध्यान दिनाले फ्याटी लिभरको समस्यालाई सहजैसँग रोकथाम गर्न सकिन्छ । चुरोट, लागूपदार्थ तथा निकोटिनलगायतका सेवनले पनि समस्या निम्त्याउन सक्ने हुँदा यसलाई त्याग्नु नै उचित हुन्छ । कुनै पनि लक्षण नदेखिन सक्ने हुँदा नियमित रुपमा लिभरको जाँच गराउन अति आवश्यक हुन्छ । साथै, रक्सीको सेवन गर्ने, मोटोपनाको समस्या भएका, मधुमेहका बिरामी तथा जोखिम समूहका मानिसले समय–समयमा कलेजोको जाँच गराइरहनु नै बुद्धिमानी हुन्छ । हेपाटाइटिस बी र सी पनि फ्याटी लिभरका लागि महत्वपूर्ण हुने हुँदा हेपाटाइटिस खोप लगाउने तथा यसको नियमित जाँच गराउनुपर्ने हुन्छ ।